Thu. May 2nd, 2024

तिब्बत स्वसाशित क्षेत्र ल्हासाबाट काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक प्राप्त

काठमाडौं, २०७७ मंसिर २२ गते सोमबार

चीनको तिब्बत स्वसाशित क्षेत्र ल्हासाबाट काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक प्राप्त भएका छन्। असोज १ गते ट्रक उपहार दिने पत्र लेख्दै ल्हासा नगरले भनेको थियो, ‘नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं। हामी काठमाडौंको वातारण सफा र स्बच्छ होस् । सरसफाइ राम्रो होस् भन्ने चाहन्छौं । त्यसैले २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएका छौं।’

ट्रक प्राप्त भएपछि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, काठमाडौं महानगर र काठमाडौं महानगरबासीकातर्फबाट ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभयो। ल्हासा नगरबाट गारवेज ट्रक प्राप्त हुनुको पृष्ठभूमि उल्लेख गर्दै मेयर शाक्यले भन्नुभयो, ‘ल्हासा नगरका मेयर गुहेओले त्यसबेलाको भेटमा काठमाडौंको सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने बताउनुभएको थियो। त्यसैबमोजिम उहाँले २ थान उपहार पठाउनुभएको हो।’

नेपालसमाज अनलाइनका अनुसार यी ट्रकको मूल्य १० लाख ६० हजार युआन (करीब १ करोड ९० लाख रुपैयाँ) हो। यी ट्रक मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइपुर्याइएको थियो । १५ गते ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका अधिकारीहरुले काठमाडौं महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए । ती ट्रक मंसिर १६ गते काठमाडौं ल्याइएको थियो। १९० हर्ज पावरको इञ्जिन भएको ट्रक ८ गेयरमा चल्छ। ७ हजार २०५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु यसको मुख्य विशेषता हो।

Facebook Comments