Sun. May 24th, 2026

युक्रेनलाई भरपर्दो सुरक्षा ग्यारेन्टी चाहिन्छ : जर्मनी   

       

किएभ, युक्रेन । रुससँगको द्वन्द्व अन्त्य भएपछि ‘स्थायी शान्ति’ सुनिश्चित गर्न युक्रेनलाई भरपर्दो सुरक्षा प्रत्याभूति दिन जर्मनी तयार रहेको जर्मनीका भाइस चान्सलर लार्स क्लिङबेलले सोमबार किएभको भ्रमणका क्रममा बताउनुभएको छ ।

क्लिङबेलले संयुक्त राज्य अमेरिकापछि युक्रेनको सबैभन्दा ठूलो सैन्य समर्थक जर्मनीले यो बर्ष र सन् २०२६ मा किएभलाई सहयोग गर्न नौ अर्ब युरो (१०.५ अर्ब डलर) खर्च गर्ने योजना बनाएको पनि बताउनुभयो ।

“जबसम्म यो युद्ध जारी रहन्छ, हामी युक्रेनको पक्षमा उभिनेछौं, किनकि यो हाम्रो स्वतन्त्रता र हाम्रो सुरक्षाको बारेमा पनि हो,” सोसल डेमोक्र्याट नेता क्लिङबेलले भन्नुभयो ।

तीन वर्षभन्दा लामो युद्धलाई अन्त्य गर्न महत्वपूर्ण मानिएको सुरक्षा प्रत्याभूतिलाई निस्तेज पार्न किएभले आफ्ना सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ ।

क्लिङबेइलले छलफल प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै युक्रेनका लागि ‘स्थायी शान्ति सुनिश्चित गर्न’ भरपर्दो सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “महत्वपूर्ण कुरा के हो भने युक्रेनमाथि अब आक्रमण नहोस् भनी सुरक्षाको प्रत्याभूति गरिनुपर्छ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि विगत साढे तीन वर्षमा जस्तो आक्रमण गर्ने आँट गर्दैनन् भन्ने उद्देश्य हुनुपर्छ।

जर्मनीका अर्थमन्त्रीसमेत रहेका क्लिङबेलले भन्नुभयो, “जर्मनीका तर्फाबाट हामीले पनि स्वाभाविक रुपमा जिम्मेवारी लिनुपर्छ।”

उहाँले युक्रेनमा सेना बलियो रहेको र हतियारको उत्पादनमा वृद्धि भएको भन्दै दुई पक्षलाई आफूले विशेष महत्वको रुपमा लिएको बताउनुभयो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युद्ध समाप्त भएपछि युक्रेनमा विदेशी सेनाको उपस्थिति महत्वपूर्ण रहेको बताउनुभएको छ ।

फ्रान्स र बेलायतले कुनै पनि शान्ति सम्झौतालाई कायम राख्न सेना पठाउने विचार अघि सारेका छन् भने जर्मनीले भने यो सम्भावनालाई लिएर नरम अडान लिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत हप्ता अमेरिकी सेना पठाउन अस्वीकार गरे पनि सम्भावित सुरक्षा प्रत्याभूतिको एक भागको रूपमा अमेरिकी हवाई शक्ति विस्तार गर्ने आफूले कल्पना गरेको बताउनुभएको थियो ।

रुसले युक्रेनमा पश्चिमा सेना तैनाथ भएकोमा पटक–पटक आपत्ति जनाउँदै आएको छ ।

ट्रम्पले युक्रेन–रुस शिखर सम्मेलनका लागि मध्यस्थता गर्ने प्रयास गरे पनि मस्कोले जेलेन्स्की र पुटिनबीच तत्काल कुनै पनि बैठक हुन नसक्ने बताएपछि शान्तिको आशा क्षीण भएको छ ।

“बल अहिले रूसी नेता भ्लादिमिर पुटिनको कोर्टमा छ”, क्लिङबेलले भन्नुभयो, “उहाँले नै युद्ध र हत्यालाई तत्काल रोक्न सक्नुहुन्छ।”  एएफपी

Facebook Comments