Mon. Apr 29th, 2024

दाहालको प्रस्तावमा ओलीको असहमति, स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित

- नेकपा विवाद झन झन जटिल बन्दै

काठमाडौं, २०७७ मंसिर २१ गते आईतबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादले गहिरो रुप लिँदै गएको छ । नेकपाको आईतबार बसेको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव छलफलका लागि प्रवेश गरेपछि प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले आफू अनुपस्थित भएको जानकारी दिनुभएको थियो ।

स्थायी कमिटी बैठकलाई लेखेको पत्रमा ओलीले कार्यकारी अध्यक्ष दाहालको प्रस्ताव छलफल योग्य नभएको भन्दै आफू उपस्थित नभएको जानकारी दिनु भएको हो । स्थायी कमिटी बैठकमा दुवै अध्यक्षका प्रस्ताव र सम्बन्धित अन्य पत्रहरुमाथि छलफललाई एजेण्डा बनाइएको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘आजको विशिष्ट, गम्भिर, संकटपूर्ण पार्टी जीवनको परिस्थितिमा एकतालाई केन्द्रमा राखेर र अहिलेको संकटलाई सकारात्मक रुपबाट समाधान गर्ने गरि व्यापक रुपमा छलफल अपिल गर्नुभएको छ । आन्तरिक छलफल, आन्तरिक गृहकार्य, बैठकमा वितरण गरिएका दुई अध्यक्षका प्रस्ताव र सम्बन्धित पत्रहरु अध्ययन को लागि एक हप्ताको समय दिइएको छ ।’तर, बैठकको एजेण्डामा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले असहमति जनाउनु भएको छ ।

कात्तिक २८ मा ओलीको राजनीतिक र कार्यशैलीगत विषय उठाउँदै दाहालले १९ पेजको प्रस्ताव सचिवालयमा पेश गर्नुभएको थियो। त्यसयताका पार्टी बैठक, जवाफि प्रस्तावमा ओलीले राजनीतिक र वैधानिक दुवै हैसियत प्राप्त नभएको भन्दै दाहालको प्रस्ताव छलफल गर्न नसकिने अडान राख्दै आउनु भएको छ ।

ओलीले मंसिर १३ को सचिवालय बैठकमा पेश गरेको ३८ पृष्ठको जवाफि प्रस्तावमा दाहालको प्रस्तावलाई लाञ्छनापत्रका रुपमा व्याख्या गर्नुभएको छ । ओलीले दाहालको प्रस्ताव खारेज गर्न सचिवालयमा माग राखेपनि बहुमत सदस्यले छलफलका लागि अगाडि बढाएको थियो ।

शनिबारको बैठकमा पनि ओलीले यहि कुरा दाहोर्‍याउनु भएको थियो । तर, बहुमत सदस्यले आइतबारको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षका प्रस्ताव छलफलका लागि लैजाने निर्णय गरेको थियो । त्यसै अनुसार आइतबारको बैठकमा दुवै प्रस्ताव वितरण गरिएको छ ।  बैठक २८ गते सम्मलाई स्थगित भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताउनु भएको खवर कान्तिपुर अनलाईनले लेखेको छ ।

Facebook Comments