Sat. Jul 27th, 2024

चीनको छन्तुस्थित महावाणिज्यदूतका लागि सहसचिव घिमिरेको नाम सिफारिस

काठमाडौं, २०७७ मंसिर २१ गते आईतबार

चीनको छन्तुमा स्थापना गर्न लागिएको नेपालकाे नयाँ महावाणिज्यदूताबासको नेतृत्वका लागि सहसचिव दिनेशकुमार घिमिरेको नाम सिफारिस गरिएको छ । महावाणिज्यदूतका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव घिमिरेको नाम सिफारिस गरिएको हो ।

नेपाल समाज अनलाईनका अनुसार परराष्ट्र मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले घिमिरेको नाम पठाएको स्रोतले बतायो । अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नसक्ने गरी परराष्ट्र मन्त्रालयले प्रस्ताव लैजाने तयारी गरेको बताइएको छ ।

चीनसँगको कनेक्टिभिटी तथा पर्यटकीय दृष्टिकोणले सिछुवान प्रान्तको राजधानी छन्तु नेपालको लागि महत्त्वपूर्ण शहर हो । सिछुवान र लुुम्बिनी प्रान्त तथा छन्तु र काठमाडौँ महानगरबीच भगिनी सम्बन्ध स्थापित छ । छन्तुसँग जोडिएको छोङ्गछिङ्ग शहरमा नेपाल-चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले नियमित उडान गरिरहेको छ । कोरोना भाइरसको महामारीअघि छन्तुबाट एअर चाइना, सिछुवान एअर र तिब्बत एअरले काठमाडौँका लागि नियमित उडान भर्दै आइरहेका थिए ।

राजधानी पैचिंगमा नेपाली राजदूताबासकाे अतिरिक्त चीनकाे ल्हासा, हङ्गकङ्ग र क्वाङ्चाै  (ग्वान्जौ) मा महावाणिज्यदूताबास तथा शाङ्हाइमा अवैतानिक वाणिज्यदूत रहेका छन् ।

Facebook Comments