Wed. May 6th, 2026

चीनसँग जोड्ने नाका चाँडो सञ्चालन गर्ने प्रयासमा छौँः मन्त्री दाहाल   

प्रतिनिधि सभाअन्तर्गत आइतबार सिंहदरबारमा बसेको गठित पूर्वाधार विकास समितिको बैठकमा वर्षातको कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढीलगायत अन्य सडकको अवस्था, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाबारे छलफलमा सहभागी सदस्यहरु । तस्बिरः गोपाल दाहाल÷रासस

       

काठमाण्डू । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी सडक चाँडो मर्मत र केरुङ नाका सञ्चालन गरी व्यापारमा सहजीकरण गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले आज यहाँ आयोजना गरेको छलफलमा उहाँले बर्सातका समयमा अन्तरदेशीय कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्था र चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाबारे चर्चा गर्दै जतिसक्दो छिटो सडक मर्मतको काम गरिने बताउनुभएको हो ।

यही असार २४ गते बिहान हिमताल विस्फोटका कारण रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएपछि पुल बग्दा केरुङ नाका अवरुद्ध भएको छ ।

“पुलसँगै रसुवागढी सडक निर्माणको काम पनि सम्पन्न गर्नुपर्छ । पुल बनेर बाटो बनेन भने नाकामा रोकिएका सामानहरू नेपाल ल्याउन सकिँदैन”, मन्त्री दाहालले भन्नुभयो, “बाढीका कारण रोकिएका सामानलाई कसरी नेपाल ल्याउने भनेर पनि हामीले प्रयास गरेका छौँ ।”

उहाँले उत्तर-दक्षिण राजमार्ग निर्माणको काम पनि चाँडो सम्पन्न गरिने बताउनुभयो । मन्त्री दाहालले वातावरणमैत्री सडक निर्माण गरिने र नयाँ सडक निर्माणको क्रममा सडक सुरक्षाको नीति लागू गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “बाढी, पहिरोजस्ता विपद्का समय र छिटो–छरितो यात्राका लागि सुरुङमार्ग उत्तम विकल्प हो, तर बजेट अभावका कारण यस्ता योजना कार्यान्वयनमा चुनौती छ” उहाँले भन्नुभयो ।

समितिका सभापति दीपकबहादुर सिंहले दसैँ–तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै चीनसँग जोडिएका नाका चाँडो सञ्चालन गर्न आग्रह गर्नुभयो । “चीनबाट लुगा–कपडाभित्रने भएकाले सस्तो पनि पर्छ । दसैँ–तिहारलाई महँगो नबनाउन पनि रोकिएका सामान नेपाल ल्याउने व्यवस्था चाँडो गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद माधव सापकोटाले चाडपर्वको मुखमा चीनसँगै जोडिएका दुवै नाका बन्द रहेकाले बाटो नखोले चाडपर्व महँगो हुने बताउनुभयो । सांसद प्रकाश ज्वालाले सडकको पहिरो छिटो व्यवस्थापन गरेर सञ्चालन ल्याउन आग्रह गर्नुभयो ।

बैठकमा सांसद निशा डाँगी, मैना कार्की, शक्तिबहादुर बस्नेत, गीता गुरुङ, बीना लामालगायतले अवरुद्ध सडक चाँडो सञ्चालनमा ल्याएर सहजता प्रदान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

राससका अनुसार मन्त्रालयका सचिव केशवकुमार शर्माले केरुङ नाकामा रोकिएका जरुरी सामानलाई वैकल्पिक माध्यमबाट नेपाल ल्याउने विषयमा तयारी भइरहेको जानकारी दिनुभयो ।

Facebook Comments