Wed. May 6th, 2026

काठमाण्डू तराई/मधेस द्रूतमार्ग आयोजना : ४३ प्रतिशत काम सम्पन्न   

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सिंहदरबारमा बिहीबार बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सहभागीहरु । तस्बिरः किरणराज विष्ट रासस

       

काठमाण्डू । रक्षामन्त्री मानवीर राईले स्थानीयवासीको भावनाअनुसार काठमाण्डू, तराई/मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि बढाइने स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँले द्रूतमार्ग अन्तर्गत उपत्यकाबाहिर जग्गा अधिग्रहण सम्पन्न भइसकेकाले खोकना क्षेत्रमा पनि सहमति गरेरै अघि बढ्ने योजना रहेको सुनाउनुभयो ।

“जनताको आवाज सुन्नुपर्छ भन्नेमा सरकार र नेपाली सेना स्पष्ट छ, केही सहमति गरेर टुङ्ग्याउन पाए हुन्थ्यो भन्ने छ”, मन्त्री राईले भन्नुभयो, “छलफबाटै समाधान निकालौँ भनेर सरकार बसिरहेको छ, तर खोकनाको जग्गा सम्बन्धमा अझै केही अफवाह फैलाइएको छ, त्यस्तो होइन ।” काठमाण्डू उपत्यकाबाहेक निजगढसम्म जग्गा प्राप्ति भइसकेको जानकारी दिँदै उहाँले खोकना क्षेत्रमा करिब ३७ प्रतिशत जग्गा अघिग्रहण गर्नुपर्ने बताउनुभयो । “खोकना क्षेत्रमा जग्गा प्राप्तिका लागि आन्तरिक छलफल गरिएको छ”, उहाँले भन्नुभयो ।

निर्धारित समयमै द्रूतमार्ग आयोजना सम्पन्न गर्ने उद्देश्यका साथ काम अघि बढिरहेको स्पष्ट पार्दै मन्त्री राईले भन्नुभयो, “निर्धारित मिति नआइकन आयोजना सम्पन्न हुँदैन भन्न त नमिल्ला, तर सो समयमा सक्न निकै कठिन छ, तर मेलम्ची आयोजना जति चै लम्बिँदैन ।”

खाँदबारी–किमाथाङ्का सडकको ट्रयाक खोल्नेकार्य सम्पन्न भएको जानकारी दिँदै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सो सडक चिनियाँ सहयोगमा कालोपत्रे गर्ने बारेमा छलफल हुने बताउनुभयो । हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको उल्लेख गर्दै उहाँले सेनाको जिम्मेवारीमा रहेका आयोजनाको प्रगति गर्व गर्न लायक रहेको स्पष्ट पार्नुभयो ।

प्रधान सेनापति अशोकराज सिग्देलले निर्धारित समयभित्रै दू्रतमार्ग आयोजना सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “अहिले करिब ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ, अब हुने काम छिटो सकिने खालका छन्”, उहाँले भन्नुभयो, “धेरै काम वातावरणीय प्रभाव मूल्याङ्कन र बोलप आह्वानमा खर्च भएको छ, आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए परियोजना निर्धारित समयमै सम्पन्न हुन्छ ।”

प्रधान सेनापति सिग्देलले द्रूतमार्गको काठमाण्डूतर्फको प्रवेश विन्दुका रुपमा रहेका खोकना क्षेत्रको सांस्कृतिक पक्षलाई जोगाएर आयोजना अघि बढाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको स्पष्ट पार्नुभयो । “यदि खोकना प्रवेश विन्दुमा आउन नसकेको अवस्थामा पनि बिकल्प तयार गरिएको छ”, उहाँले भन्नुभयो, “प्रवेश बिन्दुमा सवारी साधन कसरी प्रवेश गर्ने र निस्कने भन्ने उपाय खोजिएको छ ।”

राससका अनुसार सांसदहरुले रणनीतिक महत्वको द्रूतमार्ग आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्ने, आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न सरकाले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments