Fri. May 3rd, 2024

आज २९औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, अपाङ्‍गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको जोड

काठमाडौं, २०७७ मंसिर १८ गते बिहीबार

आज २९औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाईदैछ ।

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्‍गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपतिले अपाङ्‍गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसमा देश विदेशमा रहनुभएका फरक क्षमता भएका सबैलाई दिनुभएको शुभकामना सन्देशमा सो कुरा उल्लेख छ । राष्ट्रपतिले अपाङ्‍गताप्रति समाजमा विद्यमान नकारात्मक धारणा न्यूनीकरण गर्न र अपाङ्‍गता भएका व्यक्तिप्रति समाज र सरोकारवालाको व्यवहारमा परिवर्तन ल्याउन यस दिवसको महत्व रहेको चर्चा गर्नुभएको छ ।

राष्ट्रपतिले भन्नुभएको छ, “फरक क्षमता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा उनीहरूको सहज पहुँच स्थापित गर्न अपाङ्‍गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने मैले महसुस गरेको छु ।” उहाँले फरक क्षमता भएका व्यक्तिहरूको क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवं सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनेतर्फ ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धन गर्ने तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने यस दिवसको उद्देश्य छ । विश्‍व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्‍गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्‍वभर मनाउने गरिएको छ ।

यस वर्षको नारा ‘कोभिड-१९ पश्‍चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्‍गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ तय गरिएको छ ।

अवसरबाट वञ्चित अपाङ्‍गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरहरूमा उनीहरूको समान पहुँच स्थापित गरिनुपर्ने भनाइ पनि राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

Facebook Comments