Wed. May 15th, 2024

रुसद्वारा जापान सागरमा अमेरिकी जलसेनाको ‘जहाज ध्वस्त पारिदिने चेतावनी’

अमेरिकी जलसेनाको यूसएसएस जोन एस मक्केन (फाइल तस्बिर)

काठमाडौं, २०७७ मंसिर १० गते बुधबार

जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको एउटा विध्वंसक जहाजलाई आफ्नो युद्धपोतले मङ्गलवार लखेटेको दाबी रुसले गरेको छ।

आफ्नो जलक्षेत्रमा छिर्ने ‘यूसएसएस जोन एस मक्केन’ नामक उक्त जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिइएको उसले जनाएको छ।

उसका अनुसार उक्त जहाज पिटर द ग्रेट गल्फको जलक्षेत्रमा दुई किलोमिटर भित्र आएको थियो।

तर अमेरिकी जलसेनाले रुसी आरोपको खण्डन गर्दै आफ्नो पक्षबाट कुनै गल्ती नभएको बताएको छ। उसका अनुसार अमेरिकी जहाज कहीँबाट पनि “निष्काशित” भएको छैन।

जापान सागरको सीमामा जापान, रुस र दुई कोरिया छन्।

रुसको रक्षा मन्त्रालयका अनुसार उसको प्रशान्त क्षेत्रमा खटिएको विध्वंसक जहाज एड्मिरल भिनोग्रादोभले अमेरिकी जहाजलाई चेतावनी दिएको थियो।

चेतावनीमा “घुसपैठ गर्ने जहाजलाई बाहिर निकाल्न शक्तिको प्रयोग गर्न सकिने” भनेको बताइएको छ।

तर रुसको भनाइ मिथ्या भएको अमेरिकी जलसेनाको सेभन्थ फ्लीटका प्रवक्ताले बताए।

“समुद्री सीमाबारे गरिएको अवैध दाबीलाई अमेरिकाले कहिल्यै स्वीकार गर्दैन,” उनले भने। विविसी

Facebook Comments