Sun. May 24th, 2026

क्यामरुनका राष्ट्रपतिका मुखर आलोचक चुनावी प्रतिस्पर्धामा सहभागी हुन नपाउने   

       

याओन्डे, क्यामरुन । क्यामरुनका राष्ट्रपति पाउल बियाका एक चर्चित आलोचकलाई निर्वाचन अधिकारीहरूले अक्टोबर १२ मा हुने राष्ट्रपतीय निर्वाचनमा भाग लिन सक्ने अनुमोदित उम्मेदवारहरूको सूचीबाट बाहिर राखेका छन्।

राष्ट्रिय निर्वाचन परिषद्ले शनिबार जारी गरेको अस्थायी सूचीमा रहेका १३ उम्मेदवारमध्ये सम्भावित प्रतिस्पर्धीका रूपमा मौरिस काम्तोलाई राखिएको छैन । उहाँ अब राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुहुने छैन । काम्तो सन् २०१८ को राष्ट्रपतीय चुनावमा बियापछि दोस्रो स्थानमा रहनुभएको थियो ।

गत साता औपचारिक रूपमा उम्मेदवारी दिएका ७१ वर्षीय काम्तो निर्वाचन परिषद्मा पेश गरिएका ८३ जनामध्ये एक हुनुहुन्थ्यो ।
अस्थायी सूचीमा कुनै पनि चुनौतीलाई विचार गरेपछि आगामी दिनमा उम्मेदवारहरूको निश्चित सूची घोषणा गरिनेछ।

काम्तोले ‘अफ्रिकन मुभमेन्ट फर न्यु इन्डिपेन्डेन्स एन्ड डेमोक्रेसी (म्यानिडेम)’ को उम्मेदवारको रूपमा भाग लिन खोज्नुभएको थियो।

सन् २०१८ को चुनावमा काम्तो क्यामरुन पुनर्जागरण आन्दोलन (एमआरसी) बाट उम्मेदवार हुनुहुन्थ्यो ।

सन् १९८२ देखि सत्तामा रहेका ९२ वर्षीय बिया आठौँ कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री बेलो बोबा माइगारी र गत जुनको सुरुमा रोजगारमन्त्रीबाट राजीनामा दिएका इसा चिरोमा बकरीले भने चुनावमा भाग लिन स्वीकृति पाउनुभएको छ । एएफपी

Facebook Comments