Fri. Apr 26th, 2024

छठको तयारी द्रुत गतिमा हुँदै, आज साँझ अस्ताउदो सूर्यलाई अर्घ्य दिई पूजापाठ गरिने

विराटनगर, २०७७ मंसिर ५ गते शुक्रबार

छठ पर्वको मुख्य दिन आज पूर्वी तराईका विभिन्न जिल्लाहरुमा भव्य रुपमा अस्ताउँदो सूर्यलाई अध्र्य दिने तयारी भैरहेको छ ।

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् ।

विगत वर्षहरुमा मोरंगको सिंगिया, ल्हान्द्रा, वक्राहा सुनसरीको सुनसरी, झापाको माई, मेची, रतुवा लगायतका खोला तथा नदी एवम् तालतलैया, पोखरीहरु र चतहरा नहरका मुख्य तथा शाखा नहरहरुमा स्थानीय वासीन्दा तथा ब्रतालुहरुकोे घुईचो लाग्ने गरेको भए पनि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारण यस वर्ष अधिकांशले घरघरमै पूजाको तयारी गरिरहेका छन् ।

छठ पर्वको दिन वेलुकी अस्ताउँदो सूर्यलाई अध्र्य दिईने र त्यसको भोली पल्ट उदाउँदो सूर्यलाई अध्र्यदिएर व्रत सम्पन्न गर्ने परम्परा अनुसार मानिसहरु जलासय तर्फ लाग्ने परम्परा भए पनि यस वर्ष सो परम्परा केही स्थानहरुमा मात्र सिमित भएका छन् ।

स पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।

सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ ।  यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।

Facebook Comments