Fri. Apr 26th, 2024

अमेरिकाको चेतावनीः चीनलाई तिब्बतमा अर्को दलाई लामा छान्‍ने हक छैन !

काठमाडौं, २०७७ मंसिर ४ गते बिहीबार

अर्को दलाई लामा चयन गर्नका लागि चीनसँग कुनै धार्मिक आधार नभएको भन्दै अमेरिकाले चेतावनी दिएको छ ।

अमेरिकी उच्च कुटनीतिज्ञले हालै चीनप्रति यस्तो प्रश्न उठाएका हुन् । तिब्बतका जनताले सयौँ वर्षदेखि नै आफ्नो आध्यात्मिक नेता सफलतापूर्वक चयन गरेकोले अर्को विकल्प खोजिन नहुने उनको तर्क छ ।

‘म भारतमा रहेका धर्मशालाहरुमा भ्रमण गरेँ, जहाँ निर्वासित जीवन बिताइरहेका तिब्बती समुदायहरुसँग मैले भेटेँ र उनीहरुलाई भनेँ कि, चीनले अर्को दलाई लामा छान्ने प्रक्रियाको विरुद्धमा अमेरिका छ,’ अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका दूत स्यामुएल डी ब्रोनब्याकले भने ।

गत अक्टोबरमा भारत भ्रमणको स्मरण गर्दै यही मंगलबार उनले पत्रकारहरुसँग यस्तो बताएका हुन् । ‘त्यस्तो गर्न उनीहरुसँग अधिकार छैन । त्यस्तो गर्न उनीहरुसँग धार्मिक आधार छैन । तिब्बती बुद्धिस्टहरुले सफलतापूर्वक रुपमा सयौँ वर्षदेखि नै आफ्नो नेता छानिसकेका छन्,’ स्यामुएलले भनेका छन् ।

साथै धार्मिक समुदायहरुसँग आफ्नो नेता आफैँ छान्ने अधिकारको अमेरिकाले समर्थन गर्ने पनि उनले बताए । चिनियाँ कम्युनिस्ट पार्टीले तिब्बतमा अर्को दलाई लामा चयन गर्ने चर्चा चलिरहँदा अमेरिकी उच्च अधिकारीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

र आफूहरु चीनको यस्तो कदमको विरोध गर्ने उनको भनाइ छ । तिब्बती धार्मिक नेता १४औँ दलाई लामा हुन् । ८५ वर्षीय उनी यतिबेला भारतमा रहँदैआएका छन् । उनी वाहेक तिब्बतबाट निर्वासित बनेका १ लाख ६० हजार भन्दा धेरै तिब्बतीहरु भरतमै छन् ।

यस्तै स्यामुएलले चीनलाई आजको विश्वमा सबैभन्दा खराब धार्मिक सतावट दिएको देशको रुपमा आरोप लगाएका छन् । यसले गर्दा चीनलाई आतंकवादविरुद्धको लडाइँमा सहयोग नगर्ने पनि उनको तर्क थियो ।

यस्तै स्यामुएलले चीनलाई धार्मिक आस्थामाथि युद्ध रोक्न पनि आग्रह गरेका छन् । पछिल्लो समय चिनियाँ अल्पसंख्यक मुस्लिम, क्रिस्चियन र तिब्बतीहरुलाई स्वतन्त्रता नदिइएको आरोप चीनमाथि लाग्ने गरेको छ । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments