Sun. May 24th, 2026

मानवीय सहायता वितरणका क्रममा गाजामा सयौँको मृत्यु : राष्ट्रसंघ  

       

 जिनेभा, २०८२ असार २७ गते शुक्रबार । संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ । तीमध्ये अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रनजिकै भएको बताइएको छ ।

एक निजी प्रयोजनको रूपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले, गत मे २६ देखि गाजामा सेवा प्रदान गर्न थालेको हो । इजरायलले सोभन्दा अगाडि दुई महिनासम्म गाजामा खाद्य तथा अन्य सामग्रीको आपूर्ति रोकिदिएको थियो, जसका कारण गम्भीर भोकमरीको खतरा देखिएको थियो ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले जिनेभामा पत्रकारहरूसँगको कुराकानीमा बताउनुभयो, “मे २७ देखि जुलाई ७ सम्मको अवधिमा हामीले गाजा मानव सहायता प्रतिष्ठानका केन्द्रहरूसँग नजिकै ६१५ जनाको मृत्यु भएको अभिलेख गरेका छौँ ।”
उहाँका अनुसार, “अझ १८३ जनाको मृत्यु सम्भवतः सहायता सामग्री लादिएका सवारीहरूको मार्गमा भएको अनुमान गरिएको छ ।”
“यसरी कुल झण्डै ८०० जना नागरिकहरू सहयोग लिन खोज्दा ज्यान गुमाउन बाध्य भएका छन्,” शमदासानीले बताउनुभयो ।

गाजा मानव सहायता प्रतिष्ठानको कामका क्रममा गाजा क्षेत्रमा संयुक्त राष्ट्रसंघको व्यापक सहायता वितरण प्रणाली लगभग निष्क्रिय भएको छ । सहायता लिन लामबद्ध भएका मानिसहरूमाथि प्रायःजसो इजरायली सुरक्षाकर्मीहरूले गोली चलाएको घटनाहरू देखिँदै आएका छन् ।

प्रतिष्ठानले बिहीबार एक विज्ञप्ति मार्फत हालसम्म “छ करोड ९० लाखभन्दा बढी भोजन सामग्री वितरण गरिएको” उल्लेख गरेको थियो । तर उसले आफ्ना वितरण केन्द्रहरूसँगै नजिक मृत्यु हुने घटनाहरू भएको कुरा अस्वीकार गर्दै आएको छ ।  एएफपी

Facebook Comments