Sun. May 24th, 2026

जनसङ्ख्या वृद्धिदर घट्नु मानव अस्तित्वमाथि कै खतरा होः प्रधानमन्त्री   

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

       

काठमाण्डू, २०८२ असार २७ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताउनुभएको छ ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गतिसँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताउनुभयो ।

“मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरु चाल्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान् अर्काे छैन । आफ्नो स्वार्थका लागि मान्छे मार्ने कामधन्धा छोड्न सम्बद्ध सबैसँग अनुरोध गर्दछु । जनसङ्ख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनाशका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन ।”

प्रधानमन्त्री ओलीले २० वर्षपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्था भएबमोजिम समयमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान पाइसक्न र ४० कटेपछि रमाउला भन्ने गीतमा नअल्मन आग्रह गर्नुभयो ।

उहाँले सन्तानले डाँडाकाँडा ढाकून् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परी सन्तान नै नजन्माउने परिस्थिति सिर्जना भएकातर्फ चिन्ता व्यक्त गर्दै विकसित देशहरूमा समेत जनसङ्ख्याको वृद्धिदर ऋणात्मक हुँदा यसले समग्र विश्व प्रभावित भइ मानव अस्तित्वमाथि नै सङ्कट आउनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।

Facebook Comments