Sun. May 24th, 2026

उद्धार गर्न सरकार युद्धस्तरमाः प्रधानमन्त्री ओली   

       

काठमाण्डू, २०८२ असार २४ गते मंगलबार । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण रसुवाको ल्हेन्दे खोलासँगै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उद्धारमा सरकारका तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको समेत जानकारी गराउनुभयो ।

“यस दुःखद क्षणमा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु,” प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “विपद् सम्भावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ । सरकारी निकायहरुले उद्धारको काम गरिरहेका छन् । त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु ।”

प्रधानमन्त्री ओलीले बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरु आएका र ठूलो भौतिक क्षति पु-याएको आफूले जानकारी पाएको बताउनुभएको छ । उहाँले बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विपद्को पीडामा रहनुभएका नागरिकप्रति सहानुभूति प्रकट गर्नुभएको छ ।  रासस

Facebook Comments