Thu. Apr 23rd, 2026

‘भोजपुर प्रतिभा पुरस्कार’बाट प्रेम शाक्य पुरस्कृत   

       

टक्सार (भोजपुर), २०८२ असार २३ गते सोमबार। प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार निवासी प्रेम शाक्य पुरस्कृत हुनुभएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई आइतबार एक कार्यक्रमबीच सम्मान तथा पुरस्कृत गरेको हो ।

वि.सं. २०४५ देखि वाद्यवादकका रुपमा अनवरत क्रियाशील शाक्यले विशेषतः नेवारी समुदायमा प्रचलित खीं, धा, धिमे, नाय्खी तथा हारमोनियम, तबला जस्ता वाद्य वादनका प्रशिक्षकका रुपमा नेवारी, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा योगदान पु-याउनु भएकाले उहाँलाई पुरस्कृत गरिएको पुरस्कार कोषका संरक्षक अमृका ताम्राकारले जानकारी दिनुभयो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम तमोटले शाक्यलाई सम्मानपत्र तथा पुरस्कार राशी बापत् रु २२ हजार २२२ रुपैयाँ प्रदान गर्नुभयो । पुरस्कृत शाक्यले नेवारी वाद्य वादन बजाउने सीप हस्तान्तरणका लागि स्थानीय स्तरमा नियमित र विभिन्न जिल्लामा प्रशिक्षण समेत दिँदै आउनु भएको छ ।

राससका अनुसार वि.सं. २०१७ मा जन्मिनु भएका शाक्य भोजपुर नगरपालिका–१२ टक्सारका स्थानीय बासिन्दा हुनुहुन्छ । प्रतिष्ठानले भोजपुर प्रतिभा पुरस्कार हरेक वर्ष साहित्य, कला र संगीत क्षेत्रमा योगदान गर्ने ब्यक्तित्वलाई प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार