Sat. Apr 27th, 2024

रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि खुल्यो

काठमाडौं, २०७७ मंसिर १ गते सोमबार

हरेक वर्ष भाइटीकाका दिन खुल्ने बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएपछि पहिलो पटक खुला गरिएको छ। २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीकोबिचमा रहेको बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि सोमबार भाइटिकाका दिन खुला गरिएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

यस मन्दिर वर्ष दिनमा भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला रहने गर्छ। तर भूकम्पपछि भने पाँच वर्षसम्म यस मन्दिर बन्द रह्यो। भुकम्पले मन्दिर लगायत रानीपोखरीमा क्षति पुर्याएकाले पुनर्निर्माणका लागि बन्द रहेको थियो। दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा टीका लगाउने चलन रहेको छ। २०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो। मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो। अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो।

लामो समयपछि यो वर्ष भाइटीकाका दिन बालगोपालेश्वरको दर्शन गर्न पुगेका सर्वसाधारणहरु खुसी देखिन्छन्। पुनर्निर्माण अघिको भन्दा अहिलेको रानीपोखरी सफा रहेको उनीहरुको भनाइ छ। पाँच वर्षपछि पुनः बालगोपालेश्वरको दर्शन गरी भाइटीका लगाउन पाउँदा खुशी लागेको सर्वसाधारणले बताए।

कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था गरिएको  छ। भीड व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्वयमसेवक समेत परिचालन गरेको छ। फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोली २ गते पनि मन्दिर खुला हुनेछन्। महानगरपालिकाले भीडभाड कम गर्न टीका नलगाउनेहरुलाई अहिले नआउन पनि आग्रह गरेको छ। अवलोकनका लागि छ्टिटै खुला गरिने महानगरपालिकाको भनाइ छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उदघाटन गर्नुका साथै बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गर्नुभएको थियो। विक्रम संवत् २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुल्दै आएको छ।

Facebook Comments