Fri. Nov 22nd, 2024

तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदैै

काठमाडौं, २०७७ कात्तिक ३० गते आईतबार

तिहारको चौथो दिन आज गाई, गोरु, र गोवर्द्धन पर्वतको पूजाआजा गरी भव्य रुपमा मनाइँदैछ ।

हिन्दू धर्ममा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई आमा कै रूपमा सम्मान गरिन्छ ।

आज नुहाई धुवाई गरी पवित्र भई शुद्ध मनले गाईको पूजा गरी पीठो, बाबर, रोटी, सख्खर लगायतका मीठा–मीठा परिकार खान दिईन्छ । यसरी खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । यस दिन गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

आजकै दिन आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । यसैगरी वर्षभर जोतिने गोरु एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि यस दिन पूजा गरी मीठा–मीठा परिकार खुवाउने प्रचलन रहेको छ ।

साथै आज नेवार समुदायले पनि मह पूजा मनाउने नेपाल पचाङ्ग निर्णायक समितिले जनाएको छ ।

Facebook Comments