Sun. May 24th, 2026

विष्णुमतिमा गाडीसहित बगेकी महिलाको उद्धार   

       

काठमाण्डू, २०८२ असार १२ गते बिहीबार । काठमाण्डूको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । राति १० बजेको समयमा काठमाण्डूको टोखा नगरपालिका–६ ग्राण्डी अस्पताल पछाडि विष्णुमति खोला किनाराबाट बा प्र०१–०३१ च ६१४१ नम्बरको निजी कार अचानक खोलामा खसेको थियो ।

काठमाण्डूको धुम्बाराही बस्ने अङ्कुश सिंहले चलाएको कारबाट भावना ओली गाडीसहित बग्नुभएको थियो । चालक खोला किनारामा हामफाल्न सफल भएका थिए भने गाडीभित्र सवार ओलीलाई खोलाले बगाएको थियो ।

बाँनियाटार पुलमा आइपुगी गाडी अड्किएको अवस्थाबाट महिलाको उद्धार गरिएको प्रहरी पसिर काठमाण्डूका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएकी महिला दाङ घर भई हाल टोखा बस्दै आउनुभएको थियो ।

उहाँलाई प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि ग्रिनसिटी अस्पताल पठाएको छ । क्रेनको सहायताले खोलाभित्र रहेको कारसमेत बाहिर निकाली प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको प्रहरीले जनाएको छ ।  रासस

Facebook Comments