Mon. May 25th, 2026

सिआरआई नेपाली सेवा ५० वर्षमा प्रवेश

- China Radio International CRI, Nepali Service cross 50 Years...historical a Journey

चीनको राजधानी पैचिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) को अत्याधुनिक भवन

       

रमेश हतुवाली/काठमाण्डू, २०८२ असार ११ गते बुधबार । विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रसारण संस्था चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) (यत्तिवेला चाईना ग्लोवल टेलिभिजन नेटवर्क) नेपाली सेवाले नियमित प्रसारणको ५० वर्ष पुरा गरेको छ ।

चीन सरकारको एकमात्र अन्तर्राष्ट्रिय प्रसारण संस्था तत्कालिन रेडियो पेकिङको एउटा महत्वपूर्ण विभागको रुपमा सन् १९७५ को जुन २५ ताखिका दिन सिआरआई नेपाली सेवाले नियमित प्रसारण सुरु गरेको हो । तत्कालिन रेडियो पेकिङ (Radio Peking), रेडियो पैचिङ (Radio Beijing), चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) China Radio International (CRI) हुँदै यत्तिवेला चाईना मिडिया ग्रुप अन्तर्गत चाईना ग्लोवल टेलिभिजन नेटवर्क (सिजिटीएन) नेपाली सेवाले नियमित प्रसारणको ५० वर्ष पुरा गरेको हो ।

स्थापना कालदेखि आजका दिनसम्म (सन् १९७५ जुन २५-सन् २०२५ जुन २५) सिजिटीएन नेपाली सेवाले चिनियाँ जनता र नेपाली जनताबीचको जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नेपाली सेवाका लाखौं श्रोतामार्फत चीनलाई चिहाउने आँखीझ्याल र नेपाल–चीनबीचको मितेरी वायुपुलको उपमाले परिचित सर्वाधिक लोकप्रिय सिजिटीएन नेपाली सेवाले स्थापनाकालदेखि ५० वर्षसम्म आईपुग्दा अनेकौं आरोह र अवरोहहरु पार गरिसकेको छ ।

सन् १९४९ अक्टोबर १ का दिन चिनियाँ कम्युनिष्ट पार्टीका महान नेता कमरेड माओ चतोङको कुशल नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भइ नयाँ चीनको स्थापना भएपछि चिनियाँ जनताको समृद्धि र भौतिक विकासमा चीन सरकार निरन्तर लागिरहेको समयमा नेपाली सेवाको प्रसारण सुरु भएको थियो । सिआरआई नेपाली सेवा सन् १९७९ मा चीनका वरिष्ठ नेता तथा आधुनिक चीनका निर्माता कमरेड तङ स्याओ फिङको कुशल नेतृत्वमा दशर्कौदेखि बन्द रहेको चीनको ढोका विदेशका लागि खुल्ला गर्ने नीति र विदेशी पूँजी भित्रियाएर मुलुकको समृद्धिको सपना साकार पार्ने महान उद्धेश्यले रचना गरिएको सुधार र खुलापनको नीतिको प्रत्यक्ष साक्षी बनेको छ ।

त्यसैगरी सन् १९९७ र सन् १९९९ मा हङकङ र मकाओ कमरेड तङ स्याओ फिङको एक देश दुई व्यवस्थाको नीति अन्तर्गत मातृभूमि चीनमा फकिँदाको वलियो साक्षी समेत सिआरआई नेपाली सेवा रहेको छ ।

सिआरआई नेपाली सेवाका पूर्व निर्देशक छाङ हो (कुशुम), नेपाल भ्रमणका क्रममा पोखरामा, सन् २००५, फोटो: रमेश हतुवाली ।

त्यतिमात्र नभएर सिआरआई नेपाली सेवा सन् २०१३ सेप्टेम्बर ७ का दिन चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले घोषणा गर्नुभएको अत्यन्त महत्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाको साक्षी समेत रहेको छ । आधुनिक चीनको निर्माणमा चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनतासँगसँगै हातेमालो गरिरहेको सिआरआई नेपाली सेवा आज पनि नेपाल र चीनबीचको सम्बन्धलाई बहुआयामित, बहुक्षेत्रीय र बहुलाभदायक बनाउन निरन्तर क्रियाशिल छ भन्दा फरक पर्दैन ।

सिआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका पदाधिकारीहरुसँग सिआरआई नेपाली सेवाका पूर्व निर्देशक छाङ हो (कुशुम) र पूर्व निर्देशक चाङ युए (वर्षा), सन् २००५, पोखरा ।

स्थापनाकालदेखि स्वर्ण महोत्सवसम्म आईपुग्दा सिआरआई नेपाली सेवाले नेपाली भाषा र संस्कृतिको श्रीवृद्धिमा कहिल्यै पनि तिर्न र विर्सन नसकिने गुन लगाएको छ । चिनियाँ भाषा, संस्कृति, चिनियाँ जनजीवन र आधुनिक चीन निर्माणका यथार्थ जानकारी श्रोतामाझ पुर्याइरहको सिआरआई नेपाली सेवाले विगतमा विभिन्न विश्वस्तरीय ज्ञान विज्ञान प्रतियोगिताहरुको आयोजनामार्फत झण्डै एक दर्जन श्रोतालाई चीनको निशुल्क भ्रमण गर्ने अवसर समेत प्रदान गरेको थियो । विश्वस्तरीय ज्ञान विज्ञान प्रतियोगिताहरुमा सर्वोत्तकृष्ट भइ चीन भ्रमण गर्ने श्रोतामा प्रकाश बाबु पौडेल (चितवन) सन् १९९०,  कृष्ण प्रसाद शर्मा बजगाई (धरान) सन् १९९४, राजेन्द्र रिमाल (काठमाण्डू) सन् १९९७, भुपाल दास श्रेष्ठ (सिराहा)+टिकाराम घिमिरे (झापा) सन् १९९८,  राजेन्द्र पहाडी (पर्वत) सन् २०००, ध्रुव पौडेल (तनहुँ) सन् २०००, चेतनाथ आचार्य (इलाम) सन् २००४, रमेश कुमार भट्टराई (हुतवाली) भोजपुर सन् २००५, प्रकाश बाबु पौडेल (चितवन) सन् २००५ र डाक्टर नविन चापागाई (झापा) सन् २००५, लोकेन्द्र काफ्ले ( मोरंग), मान बहादुर खत्री (दाङ),२००८, उमेश रेग्मी (मोरंग) २०१०, दिपक नेपाल (सिन्धुपाल्चोक), रामजी राई र हुम बहादुर खड्का(तनहुँ) सन् २०१८ लगायत हुनुहुन्छ ।

सिआरआई नेपाली सेवाका पूर्व निर्देशक चाङ युए (वर्षा), नेपाल भ्रमणका क्रममा चितवनमा, सन् २००५, फोटो: रमेश हतुवाली ।

रेडियो प्रसारक र श्रोताबीच सामान्य सम्बन्ध वा सम्पर्क हुनु स्वाभाविक नै हो । तर सिआरआई नेपाली सेवाका सञ्चालक र श्रोताबीचको सम्बन्धलाई विश्वमै उत्कृष्ट, अनूपम् र उदाहरणीय मानिन्छ । सिआरआई नेपाली सेवाका प्रसारक र श्रोताबीचको सम्बन्ध दाजुभाइ र दिदीबहिनीको जस्तो रहेको छ जसले यी दुवैलाई एउटै परिवारका सदस्यको रुपमा गोलबन्द गरेको छ ।

सिआरआईका केही श्रोताको सिआरआई र चिनियाँ मित्रहरुसँगको सम्बन्ध यत्ति प्रगाढ र आत्मिय रहेको छ कि उहाँहरु आफ्नै खर्चमा महंगो हवाई टिकट र होटलको पैसा तिरेर चीनको राजधानी पैचिङस्थित सिआरआईको प्रधान कार्यालयसम्म पनि पुग्नु भएको छ । उदाहरणको रुपमा सिआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपाल-चीन जनमैत्री परिषदका सचिव काजिराम गौतम (कानेपोखरी गाउँपालिका वडा नं. ७, मोरङ) सन् २०१८ को अप्रिल १५ का दिन सिआरआईको प्रधान कार्यालय पुग्नु भएको थियो । यो रेडियो प्रसारणको इतिहासमा विर्सन नसकिने घटना हो भन्दा फरक पर्दैन ।

 

 

सिआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष काजिराम गौतम, सन् २०१८ को अप्रिल १५ मा सिआरआईको प्रधान कार्यालय, पैचिङ,चीनमा नेपाली सेवाका कर्मचारीहरुसँग ।

सिआरआई सुनेरै नेपाल-चीन सम्बन्धलाई जनस्तरसम्म विकसित गर्न पोखरामा सन् २००६ मा नेपाल-चीन प्रतिष्ठान नामक मैत्री संस्था स्थापना भएको थियो । यसको विधिवत उद्घाटन नेपालका लागि तत्कालिन चिनियाँ राजदूत सुन हफिङले गर्नुभएको थियो । प्रतिष्ठानले केही वर्ष पुस्तकालय र भाषा कक्षा पनि सञ्चालन गरेको थियो ।

सिआरआईसँग वलियो सम्बन्ध बनाएका श्रोताले नेपाल चीन मैत्री युवा संघ (काठमाण्डू) र नेपाल चीन जनमैत्री परिषद् (विराटनगर) जस्ता संस्थाहरु पनि स्थापना गरेका थिए । ती संस्थाहरुले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु र नेपालस्थित चिनियाँ राजदूतावासका अधिकारीहरुको सहभागीता हुने गरेको थियो । जुन अहिले सम्म पनि जारी नै छ ।

सिआरआई नेपाली सेवाका पहिलो पुस्ताका कर्मचारीहरु छाङ हो (कुशुम), केशरी मैया, वाङ स्युचन, च्या चे, लि फङ, लि छिन, लिउ होङ स्याङ (रामहरि तिवारी), सु हाओ (मुकुन्द), छन मिन यी त्यसैगरी दोस्रो पुस्ताका कर्मचारीहरु चाङ युए (वर्षा), मेघा, हिमा, रवि, तेस्रो पुस्ताका कर्मचारीहरु लिउ वन (सुमेघा), ललिता, लालिमा, प्रतिभा, राजु, राम हुँदै चौथो र पाँचौ पुस्ताका कर्मचारीहरुबीचको सम्बन्ध एउटै घरका दाजुभाइ र दिदीबहिनी जस्तो रहेको छ । जुन विश्वका अन्य देशका प्रसारण संस्थामा विरलै पाईएला । त्यतिमात्र नभएर सिआरआई नेपाली सेवामा कार्यरत अधिकांश चिनियाँ कर्मचारीहरुको नाम पनि नेपाली रहेको छ । नेपाली सेवामा कार्यरत कर्मचारीहरु नेपाल भ्रमणका क्रममा श्रोताका घरमा पुग्नु, त्यही बस्नु, त्यही खानु र भाषा, संस्कृति र अनुभव आदान प्रदान गर्नु पनि महत्वपूर्ण कुरा हो । जसले नेपाल र चीनबीचको सम्बन्धलाई सरकारी स्तरमा मात्र नभएर जनताका घरघरसम्म पुर्याएको स्पष्ट हुन्छ ।

सिआरआई नेपाली सेवा (CGTN Nepali) का वर्तमान निर्देशक लिउ वन (सुमेघा)

त्यसैगरी सिआरआई नेपाली सेवाको अर्को महत्वपूर्ण पक्ष भनेको विगत ४० वर्षभन्दा लामो समयदेखि यसको नेतृत्व तीनजना महिलाहरुले क्रमश गर्दै आउनु भएको छ । जुन नेपाली आमा दिदीबहिनीहरुका लागि पनि प्रेरणाको श्रोत हुन सक्छ । उहाँहरु क्रमश छाङ हो (कुशुम), चाङ युए (वर्षा) र लिउ वन (सुमेघा) हुुनुहुन्छ ।

सिआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका पदाधिकारीहरुसँग सिआरआई नेपाली सेवाका पूर्व निर्देशक छाङ हो (कुशुम) र पूर्व निर्देशक चाङ युए (वर्षा), सन् २००५, लुम्बिनी ।

सिआरआई नेपाली सेवा अर्थात सिजिटीएन नेपाली सेवाको ५० औं वार्षिकोत्सवका अवसरमा यस प्रसारण संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै सिआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका पूर्वअध्यक्ष प्रकाश बाबु पौडेल, पूर्वअध्यक्ष चेतनाथ आचार्य, पूर्वउपाध्यक्ष लोकेन्द्र काफ्ले, उपाध्यक्ष हुम बहादुर खड्का, पूर्वमहासचिव राजेन्द्र पहाडी, पूर्वकार्यवाहक अध्यक्ष टीकाराम घिमिरे, पूर्व केन्द्रीय सदस्य डा. नविन चापागाई, पूर्व केन्द्रीय सदस्यहरु काजिराम गौतम, दिपक नेपाल, सन्तोष भुजेल, नवराज आचार्य, पूर्व रेडियो मोनिटर उमेश रेग्मी, सिआरआईका पूर्व सम्वाददाताद्वय ध्रुव पौडेल र कला त्रिताल, पूर्व केन्द्रीय सदस्य प्रकाश पैतोला, पूर्व केन्द्रीय सदस्य भुपालदास श्रेष्ठ, विष्णु प्रसाद भट्टराई, पूर्व केन्द्रीय सदस्य मेल्सम ओझा, लोकेन्द्र शाक्य लगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँहरुले नेपाल र चीन जोड्ने मितेरी पुलको रुपमा रहेको सिआरआई नेपाली सेवाको शान, मान र गौरव सगरमाथा जस्तै उच्च र ग्रेटवाल जस्तै फराकिलो बन्दै जाओस् भन्ने कामना गर्नुभएको छ ।

Facebook Comments