Sun. Jul 13th, 2025

अमला रोका रिहालगत्तै पक्राउ (एकसट्ठी किलो सुन तस्करी प्रकरण)

- दावा छिरिङकी श्रीमती अमला रोक्का रिहालगत्तै पक्राउ   

काठमाण्डू, २०८२ असार ९ गते सोमबार । एकसट्ठी किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोकालाई आज रिहालगत्तै प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डू जिल्ला अदालतमा आज भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई रु दुई लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि रिहा भएगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो ।

सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको जानकारी दिनुभयो ।

अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । राजस्व अनुसन्धान विभागले २०८० साल साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको झण्डै ६१ किलो सुन सिनामंगलबाट बरामद गरेको थियो ।

त्यसको अनुसन्धानपछि प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले अमलासहित २९ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । राससका अनुसार त्यसयता फरार रहेकी रोकालाई काठमाण्डूको टोखाबाट यही असार ६ गते पक्राउ गरिएको थियो । अदालतमा पेस भएकी उनीविरुद्धको मुद्दामा आइतबार र आज थुनछेक बहस भएको थियो ।

Facebook Comments