अणुराज जोशीद्वारा लिखित “कला र विज्ञान क्षेत्रमा अरनिको शैलीको महिमा” विषयक पुस्तक लोकार्पण
- कला र विज्ञान क्षेत्रमा अरनिको
रमेश हतुवाली/काठमाण्डू, २०८२ असार ६ गते शुक्रबार । शताब्दी पुरुष सत्यमोहन जोशीका जेठा छोरा अणुराज जोशीद्वारा लिखित “कला र विज्ञान क्षेत्रमा अरनिको शैलीको महिमा” विषयक पुस्तक लोकार्पण गरिएको छ ।
काठमाण्डू नयाँबजारमा आज एक भव्य समारोहबीच अरनिको समाजका अध्यक्ष डाक्टर सुशिल प्रजापति, नेपालस्थित चिनियाँ राजदूतावासका काउन्सीलर छ वाङ र साहित्यकार गणेश कुमार जिसीले संयुक्त रुपमा सो पुस्तक लोकार्पण गर्नुभएको हो ।

सो समारोहलाई सम्बोधन गर्नुहुँदै पुस्तकका लेखक अणुराज जोशीले राष्ट्रिय विभूती तथा महान कलाकार अरनिको कला र चित्रकला क्षेत्रमा मात्र नभइ विज्ञानका क्षेत्रमा पनि उत्तिकै निपूर्ण भएको बताउनुभयो । चीनका तत्कालिन सम्राट कुब्लई खाँले नेपाली कलाकार अरनिकोलाई बहुमुखी प्रतिभाका प्रतिमुत्र्तिको रुपमा प्रधानमन्त्री सरहको सम्मान र सुविधा उपलब्ध गराउनु भएको पनि जानकारी दिनुभयो । ज्योतिष शास्त्रमा पनि अरनिकोको योगदान महत्वपूर्ण रहेको तर यस विषयमा थोरैलाई मात्र जानकारी भएको लेखक जोशीको भनाइ छ ।

लोकार्पण समारोहमा पुस्तकको समिक्षा गर्नुहुँदै साहित्यकार गणेश कुमार जिसीले ३८ वटा शीर्षकमा कवितात्मक शैलीमा लेखिएको “कला र विज्ञान क्षेत्रमा अरनिको शैलीको महिमा” पुस्तक जुन सुकै उमेर र समूहका पाठकका लागि पनि उपयुक्त भएको टिप्पणी गर्नुभयो । साहित्यकार जिसीले अरनिकोको कला र भवन निर्माणका शैलीहरु चीनमा मात्र नभएर एशियाका विभिन्न भागसम्म पुगेको जानकारी दिनुभयो ।

अरनिको समाजका अध्यक्ष डाक्टर सुशिल प्रजापतिले अरनिको समाजले स्थापना कालदेखि नै नेपाल र चीनबीचको शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, संस्कृति लगायतका क्षेत्रहरुमा काम गरिरहेको बताउनुुहुँदै लोकापर्ण गरिएको पुस्तक पनि नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध स्थापनाकै लागि प्रकाशित भएको जानकारी दिनुभयो ।

अरनिको समाजका पूर्वअध्यक्ष डाक्टर सर्वोत्तम श्रेष्ठले स्थापना कालदेखिनै नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म विकसित गर्न अरनिको समाज लागिरहेको जानकारी दिनुहुँदै महान कलाकार अरनिकोको बारेमा अझ धेरै अध्ययन अनुसन्धानको खाँचो रहेको बताउनुभयो ।
लोकापर्ण समारोहमा साहित्यकार, समाजसेवी, भाषाविज्ञ, कवि, कलाकार, चिकित्सक, शिक्षक, सञ्चारकर्मी लगायतका झण्डै एकसय जनाको सहभागिता रहेको थियो ।

