इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्याएको टर्कीका राष्ट्रपतिको भनाइ
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान
इस्तानबुल, २०८२ असार २ गते सोमबार । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्याएको बताउनुभएको छ ।
एर्दोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सोमबार भएको टेलिफोन वार्तामा उक्त कुरा बताउनुभएको हो ।
एर्दोगानले नेता पुटिनसँगको वार्तामा भन्नुभयो, “इरानमाथि इजरायलको आक्रमणबाट सुरु भएको हिंसाको चक्रले सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारेको छ ।”
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारको ‘अराजक रवैया’ ले ’अन्तर्राष्ट्रिय प्रणालीका लागि स्पष्ट खतरा उत्पन्न गरेको’ र मध्यपूर्वले ’नयाँ युद्ध सहन नसक्ने’ पुटिनसँग बताएको राष्ट्रपति एर्दोगानको कार्यालयले जनाएको छ ।
क्रेमलिनका अनुसार पुटिन र एर्दोगानबीच भएको वार्तालाई इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्यका लागि आह्वान गर्न प्रयोग गरिएको थियो ।
क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेताहरूले शत्रुताको तत्काल अन्त्य गर्न र इरानको आणविक कार्यक्रमलगायत विवादास्पद मुद्दाहरूको समाधान राजनीतिक र कूटनीतिक माध्यमबाट गर्न आह्वान गर्नुभएको छ ।
गत शुक्रबार इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि भड्किएको इरान र इजरायलबीचको द्वन्द्वसँगै टर्कीएले आफ्नो कूटनीतिलाई तीव्र बनाएको छ । एएफपी

