Sun. May 24th, 2026

अहमदावाद विमान दुर्घटनाः एक व्यक्तिको जीवितै उद्धार   

       

अहमदावाद, गुजरात,  २०८२ जेठ २९ गते बिहीबार । अहमदावादमा भएको विमा दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

अहमदाबाद, जुन १२, २०२५ (सिन्ह्वा)-मानिसहरूले भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको भग्नावशेष हेरिरहेका छन्, जुन १२, २०२५।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गर्नुभएको छ ।

बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ ७८७-८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै १ः३० बजे दुर्घटनाग्रस्त भएको थियो ।

एएनआईसँग फोनमा कुरा गर्दै मलिकले भन्नुभयो, “प्रहरीले सिट ११ ए मा एक जना जीवित व्यक्ति फेला पारेको छ। उहाँको अस्पतालमा उपचार भइरहेको छ ।”

उहाँले थप्नुभयो, “मृत्यु हुनेको सङ्ख्याबारे केही भन्न सकिने अवस्था छैन । आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ।”

दुर्घटनापछि केन्द्रीय ‘रिजर्भ पुलिस फोर्स (सिआरपिएफ)’ ले उद्धार र राहत कार्यमा सहयोग गर्न करिब १५० सुरक्षाकर्मी परिचालन गरेको छ ।

सीआरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “¥यापिड एक्सन फोर्स (आरएएफ) को १०० बटालियनका जवानका साथै गान्धीनगरस्थित सीआरपीएफको ‘ग्रुप सेन्टर’का जवानलाई दुर्घटनास्थलमा पठाइएको छ ।

गुजरात सरकारले पनि गान्धीनगरका ९० जना कर्मचारी सम्मिलित तीन वटा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) टोलीलाई उद्धार कार्यमा सहयोग गर्न परिचालन गरेको छ।

-गृहमन्त्री शाहद्वारा घटनास्थलको अवलोकन-    

सङ्घीय सरकारका गृहमन्त्री अमित शाहले अहमदावादस्थित विमान दुर्घटनास्थलमा राहत तथा उद्धार कार्यको समीक्षा गर्न बिहीबार साँझ घटनास्थलको अवलोकन भ्रमण गर्नुभएको छ ।

केन्द्रीय गृहमन्त्रीको साथमा नागरिक उड्डयन मन्त्री राममोहन नायडु किन्जारापु, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र गृहमन्त्री हर्ष सङ्घवी पनि घटनास्थलमा पुगेका छन् ।

एयर इन्डियाका अनुसार लण्डनको ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ को विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियाली र सात जना पोर्चुुगाली नागरिक रहेका थिए । एएफपी

Facebook Comments