Thu. Apr 23rd, 2026

शनिबार बकरिद पर्व   

       

विराटनगर, २०८२ जेठ २३ गते शुक्रबार । इस्लाम धर्मावलम्बीले मनाउने महान् चाड बकरिद (ईद उल अजहा) शनिबार मनाउने भएका छन् ।

बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।

धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रसत्र भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जत्रत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई मुसलमानले कायम राखेको पाइएको छ ।

निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मत्रत (दुवा) मागेका थिए र भनेका थिए, “यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु ।” सोही अनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छभन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लाह खुसी भएका थिएनन् ।

अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल साबित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जत्रतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।

कुर्बानीको मासु तीन भागमा लगाइ वितरण गरिन्छ । एक भाग गरिब एवं विपत्र परिवारलाई एक आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । भोलि पर्व मनाउनका लागि मुसलमान सबै किसिमका तयारीमा जुटेका छन् ।

इस्लाम धर्मअनुसार प्रत्येक वर्ष अर्बी क्यालेन्डरअनुसार १०/१० दिनपछि सर्दै जान्छ । त्यसले गर्दा ३६ वर्षको अवधिमा सबै चाडपर्व एक फन्को लगाइसक्छ । रासस

Facebook Comments

सम्बन्धित समाचार