Sun. Apr 28th, 2024

क्यानाडामा मौलाईरहेको नेपाली संस्कृति र बडा दशैं, २०७७

- प्रवासमा बडा दशैं र तिहार

काठमाडौं, २०७७ कात्तिक १४ गते शुक्रबार

क्यानाडाको एडमन्टन शहरस्थित नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टनले भव्य समारोहबीच दशैं, तिहार कार्यक्रम सम्पन्न गरेको छ ।

क्यानाडाको एडमन्टनमा २४ अक्टोबरका दिन भर्चुअल विधिबाट आयोजित सो कार्यक्रममा दर्शकहरुको व्यापक सहभागिता रहेको नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टनले जनाएको छ ।

कार्यक्रममा बाल कलाकार किञ्जल नेपाल र सलोनी जोशीले आयो दशैं, आयो तिहार भन्ने सुमधुर गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेर दर्शकहरुमाझ दशैं र तिहारको झझल्को ल्याउन सफल हुनुभएको थियो । त्यस्तै एडमन्टनका अग्रज जया झा कोर्सन र पं.यादव राम झाले दुर्गा पूजा एवम् दशैं चाडको धार्मिक तथा साँस्कृतिक महत्वको बारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रम संयोजक नमी श्रेष्ठले तिहार चाडको महत्व बारे प्रकाश पार्नु भएको थियो । त्यस्तै एडमन्टनमा रहनु हुने नेपाली बुबाआमाले दशैंको शुभकामना आदान प्रदान गर्दै दर्शकहरुलाई आशिर्वाद प्रदान गर्नु भएको थियो ।

निर्देशक निश्चल नेपाल

सो समारोहमा दुर्गा नाच, दुर्गा पूजा र देउसी भैलो कार्यक्रम पनि सम्पन्न गरिएको थियो । त्यत्तिमात्र नभएर एडमन्टनको सांगितिक समूहद्वारा मालश्री धुन र देउसी भैलो धुन प्रस्तुत भएको थियो । जुन धुनले नेपालमै बसेर दशैं र तिहार मनाईरहेको झल्को दिएको दर्शकहरु बताउँछन् ।

कार्यक्रममा विशेष मनोरञ्जनको रुपमा दशैं खसी चिठ्ठा नामक नाटक पनि प्रस्तुत गरिएको थियो । दश मिनेट लामो सो नाटकको लेखन सम्झना जोशीले गर्नुभएको थियो भने नाटकमा नमी श्रेष्ठ र दिपेश श्रेष्ठको निर्देशन रहेको थियो । नाटकमा कलाकारहरु अर्पिता थापा, ज्ञानवीर थापा र मनोज कुमार गुप्ताले अभिनय गर्नुभएको थियो । सो अवसरमा बाल कलाकार आयुसा मैनालीले दशैं तिहारसँग सम्बन्धित गीत प्रस्तुत गर्नुभएको थियो भने एडमन्टनका यूवाहरुले तिहारसँग सम्बन्धित सांगितिक नाटक पनि प्रस्तुत गरेका थिए ।

अध्यक्ष गेराज आचार्य

भव्य अनि सभ्य रुपमा सम्पन्न सो दशैं तिहार कार्यक्रमको संयोजन नमी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टनका अध्यक्ष गेराज आचार्यले गर्नुभएको थियो ।

दशैं तिहार कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे जानकारी दिनु हुँदै नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टनका साँस्कृतिक कार्यक्रम निर्देशक निश्चल नेपाल भन्नुहुन्छ: “क्यानाडामा नेपाली कला र संस्कृतिको विकास तथा प्रवद्र्धन र नेपालीहरुलाई दशैं तिहारमा समेट्ने उद्देश्यले हरेक वर्ष दशैं र तिहार कार्यक्रम सञ्चालन गर्दै आएको छौं ”

“प्रतिभा भएका नेपालीहरुलाई अघि बढाउनका लागि हामी मञ्च तयार पारिदिन्छौं र नेपाली कला र संस्कृतिसंग जोडिएका हरेक नेपाली मनहरुलाई हामीले सम्मान गर्दै आएका छौं र त्यस्ता प्रतिभाहरुलाई हामी निरन्तर सम्मान गर्नेछौं । ”  नेपाल भन्नुहुन्छ ।

यस पटकको दशैं तिहार कार्यक्रम कस्तो भयो भनि सोधिएको प्रश्नमा निर्देशक नेपाल भन्नु हुन्छ: ‘क्यानेडियन साँस्कृतिक महोत्सवको अवसर पारेर यो वर्ष दशैं तिहार कार्यक्रमसँगै मानाउन हामी सफल भएका छ्रौं र पहिलो पटक क्यानेडियन सांस्कृतिक महोत्सवमा भाग लिएकोमा हामी गर्भ गर्दछौं ।’

सो दशैं तिहार कार्यक्रमलाई नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टनको अफिसियल यु ट्युव च्यानल NECASE  LIVE बाट दिउसो १२ बजे प्रत्यक्ष प्रसारण गरिएको थियोे । कार्यक्रमलाई यु ट्युबबाट प्रत्यक्ष प्रसारणका लागि सुदीप मानन्धरले आवश्यक सवै प्राविधिक पक्षको भूमिका कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो ।

२५ अक्टोबर का दिन विहान ११ वजेदेखि १२ बजेसम्म रेडियो काठमाडौं अन्तर्गतको सिजेएसआर एफ.एम. ८८५ मेगाहर्ज एडमन्टनबाट दशैं तिहार कार्यक्रमको प्रसारण भएको थियो । जसमा दशैं र तिहारका गीतहरु प्रस्तुत भएका थिए भने दशैंको महत्वको बारेमा पनि उल्लेख गरिएको थियो ।

महामारीको रुपमा विश्वभरी फैलिरहेको कोराना भाईरसको बढ्दो संक्रमणको भयावह अवस्थामा पनि जहाँ ईच्छा त्यहाँ उपाय भने जस्तै क्यानाडाको एडमन्टन शहरमा बस्ने नेपालीहरुले भर्चुअल विधिबाट आयोजना गर्नुभएको यस वर्षको बडा दशैं र तिहार कार्यक्रमको लागि क्यावात भन्नै पर्छ ।

Facebook Comments