Thu. Apr 25th, 2024

मास्क र पञ्जाको घेरामा बडा दशैंको टीका, जमरा र आशिर्वाद

- कोरोनाले थलिएको बडादशैं, २०७७

विराटनगर, २०७७ कात्तिक १० गते सोमबार

नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन आज विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।

यस दिन आफु भन्दा मान्यजनहरुबाट माता दूर्गा भवानीको प्रसाद स्वरुप रातो अक्षताको टीका र पँहेला जमरा ग्रहण गर्ने परम्परा रहि आएको छ । तर यस पटकको बडा दशैं सम्भवतः इतिहासमै पहिलो पटक कोरोना भाइरसको महामारीको कारण घर परिवार भित्र मात्र सीमित भएको छ ।

महामारीको रुपमा विश्वभरी फैलिएको कोरोना भाइरसको त्रासको कारण आज अधिकांशले घरमा भएका ठूला मान्यजनबाट दुर्गा भवानीको प्रसादको रुपमा टीका र जमरा ग्रहण गरेका छन । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिएपछि श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाईएको हो ।

हाम्रा विराटनगर सम्वादाताका अनुसार यस पटकको विजया दशीको दिन विगत वर्षहरुमा जस्तो टीका थाप्न जानेहरुको घुईचो देखिएन । विराटनगरका वरगाछी, कञ्चनबाडी, पुष्पलालचोक, पोखरीया, तिनपैनी चोक, मेनरोड, मधुमारा, टोलिया, पिचरा र मिल्स एरिया जस्ता क्षेत्रहरु मा मानिसहरुको निक्कै कम चहलपहल रहेको थियो ।

विराटनगर महानगरपालिका वरपरका गाउँहरु झोराहाट, टंकिसिन्वारी, कटहरी, रंगेली, रमाईलो, उर्लावारी लगायतका क्षेत्र तथा वस्तीहरुमा पनि मानिसहरुको सामान्य चहलपहल मात्र देखिन्थ्यो । कतिपय घरहरुमा टीका थाप्दा आशिर्वाद दिने र आशिर्वाद लिनेहरु दुवैले माक्स र पञ्जा लगाएको देखिन्थ्यो भने कतिपय घरहरुमा टीका थाप्नेले मात्र माक्स प्रयोग गरेको देखिन्थ्यो । त्यस्तै कतिपयले माक्स र पञ्जा नलगाईकनै सहजै टीका र जमरा थापेको पनि देखियो ।

कोरोना संक्रमण महामारीका कारण विगत वर्षहरु जस्तो उल्लास नभएपनि भौतिक दूरी कायम गर्दै सर्वसाधारणले दसैंको टीका र जमरा लगाइरहेका छन् ।

विगतमा राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्थ्यो जुन दृश्य यस पटक देखिएन । न लिंगे पिंग न रोटे पिंग । लाग्दथ्यो बडादशैंको भव्यतालाई कोरोनाले नराम्ररी थिचेको छ ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक-सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ ।

Facebook Comments