Mon. Apr 29th, 2024

नेपालकै सबैभन्दा ठूलो विद्युत्त प्रसारण सबस्टेसनको निर्माण सम्पन्न

विराटनगर, २०७७ कात्तिक ८ गते शनिबार

नेपाल भारतबीचमा विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको ढल्केबर-मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइन अन्तर्गतको ढल्केबर सवस्टेशनको निर्माण पूरा भएको छ।

मुलुकभित्रको सबैभन्दा ठूलो र ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सो सबस्टेसनको निर्माण पूरा भएको कारोबार अनलाइनले लेखेको छ। नेपाल-भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको ढल्केबार मुजफ्फरपुर लाइन तयार भएर १३२ र २२० केभीमा चार्ज भए पनि पूर्ण क्षमतामा सञ्चालनका लागि ढल्केबर सवस्टेशनको काम पूरा हुन सकेको थिएन। दुई वर्षअघि २२० केभीमा चार्ज भए पनि बल्ल ४ सय केभीमा चार्ज हुनसक्ने गरी सवस्टेशन पूरा भएको छ। सवस्टेशन पूरा भएपछि बुधबार राति तीन ट्रान्सफर्मरमध्ये एक चार्ज गरिएको छ भने दुई टान्सफर्मर र एउटा रिक्याक्टर चार्ज गर्न अझै बाँकी छ।

विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले नेपालकै हालसम्ममै ठूलो र पहिलो ४ सय केभीको सवस्टेसनको निर्माण कार्य पूरा भइ तीनमध्ये एक ट्रान्सफर्मरको चार्ज गरिसकेको बताउनुभयो। “ढल्केबर-मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइनअन्तर्गतको चार सय केभीको ढल्केबर सवस्टेशन पूरा भएको छ, तीनमध्ये एक ट्रान्सफर्मर चार्ज भएको छ, बाँकी दुई दसैंपछि परीक्षण हुनेछ,” उहाँले भन्नुभयो, “भारततर्फको मुजफ्फरपुरमा केही काम बाँकी रहेकोले पूर्ण रूपमा चार्ज भने नोभेम्बर १० अर्थात तिहारअघि सम्पन्न हुनेछ, त्यसपछि सवस्टेशन पूर्ण क्षमतामा चार्ज हुनेछ।”

नोभेम्बर ६ देखि १० सम्म भारतर्फको मुज्जफरपुरमा २२० केभीको टावरबाट ४ सय केभीको टावरमा चार्जका लागि काम पूरा हुने प्राधिकरणले जनाएको छ। बुधबार राति नेपाल विद्युत् प्राधिकरणले भारततर्फको ४ सय केभीबाट ढल्केबर सवस्टेशनको ४ सय केभीमै चार्ज गर्नुपर्ने भए पनि भारततर्फ पूरा हुन बाँकी भएकोले नेपालतर्फको २२० केभीबाट ४ सय केभीमा लोड चार्ज गरिएको थियो।

मुजफ्फरपुरको एउटा टावरमा पानी जम्मा भएको तथा हाल त्यो क्षेत्रमा चुनाव रहेकोले दसैंपछि पाँच दिन सटडाउन गरेर त्यो काम पूरा गरेपछि लोडसहित चार सय केभीमा चार्ज हुनेछ। गतअसारमै चार्ज गरिसक्ने लक्ष्य राखिए पनि लामो समयदेखि केरुङमा हाइभोल्टेज टेष्टिड. किट अड्किएको कारण परीक्षण चार्ज हुन सकेको थिएन। पूर्व-पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि निर्माण गएिको ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)प्रविधियुक्त स्वचालित ढल्केबर सबस्टेसन ढल्केबर-मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन हाल भने २२० केभीमा सञ्चालनमा छ।

Facebook Comments