Sat. May 9th, 2026

अमेरिकासँगको वार्तामा कूटनीतिलाई ‘वास्तविक मौका’ दिएको इरानको भनाइ   

       

तेहरान, २०८१ चैत ३० गते शनिबार । वासिङ्टनको बढ्दो दबाबका बावजुद ओमानमा संयुक्त राज्य अमेरिकासँग भएको आश्चर्यजनक आणविक वार्तामा कूटनीतिलाई ‘वास्तविक’ मौका दिइरहेको इरानले शुक्रबार बताएको छ।

लामो समयदेखिको प्रतिद्वन्द्वी इरान र अमेरिकाबीच शनिबार मस्कटमा सम्भावित आणविक सम्झौतामा पुग्ने उद्देश्यले वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता सुरु गर्ने घोषणा गर्नुभएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक्समा गरेको एक पोस्टमा भन्नुभएको छ, “हामी कूटनीतिलाई राम्रो विश्वास र पूर्ण सतर्कताका साथ वास्तविक मौका दिइरहेका छौँ । अमेरिकाले यो निर्णयको कदर गर्नुपर्छ, जुन उनीहरूको शत्रुतापूर्ण बयानबाजीको बावजुद गरिएको छ ।”

वार्ताको नेतृत्व अमेरिकी विशेष दूत स्टिभ विटकोफ र इरानका विदेशमन्त्री अब्बास अराघचीले गर्नेछन् ।

ट्रम्पले वार्ता ‘प्रत्यक्ष’ हुने बताए पनि अराघचीले भने वार्ता ‘अप्रत्यक्ष’ हुने बताउनु भएको छ ।

निर्धारित बैठकअघि वासिङ्टनले इरानमाथि प्रतिबन्ध लगाउने ‘अधिकतम दबाब’ को नीतिलाई निरन्तरता दिएको थियो र हालै इरानको तेल सञ्जाल र आणविक कार्यक्रमलाई लक्षित गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताबाट कुनै सम्झौता हुन नसके इरानविरुद्ध सैन्य कारबाही ‘पूर्णरुपमा’ सम्भव रहेको बताउनुभएको थियो ।

बिहीबार इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकार अली शमखानीले यस्ता धम्कीले इरानबाट संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निरीक्षकहरूलाई निष्कासित गर्नेलगायतका कदम चाल्न सक्ने चेतावनी दिएका थिए।

जवाफमा वासिङ्टनले यस्तो कदमले इरानको तर्फबाट तनाव बढाउने र गलत आँकलन गर्ने बताएको छ ।

ट्रम्पले गत महिना खामेनीलाई पत्र पठाएर वार्ताको आग्रह गर्दै तेहरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिनुभएको थियो ।

त्यसको केही हप्तापछि तेहरानले अप्रत्यक्ष वार्ताका लागि खुला रहेको र संयुक्त राज्य अमेरिकाले आफ्नो ‘अधिकतम दबाब’ नीति कायम रहेसम्म प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गरेको थियो।

बाकाईले वार्ताअघि इरानले पूर्वअनुमान वा भविष्यवाणी केही नगर्ने बताउनुभएको छ ।

“हामी शनिबार अर्को पक्षको मनसाय र गम्भीरताको मूल्याङ्कन गछाौँ र सोही अनुसार हाम्रो अर्को कदमलाई समायोजन गर्छौँ,” बाकाईले भन्नुभयो ।  एएफपी

Facebook Comments

सम्बन्धित समाचार