Sun. May 10th, 2026

चिनियाँ भर्तीहरू रुसका लागि लडिरहेको जेलेन्स्कीको भनाइपछि पैचिङद्वारा ‘गैरजिम्मेवार टिप्पणीहरू’ को आलोचना  

       

इजिङ, २०८१ चैत २८ गते बिहीबार । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पैचिङलाई आफ्ना नागरिकहरू रुसद्वारा सङ्घर्षमा लड्न भर्ती भइरहेको थाहा भएको बताएपछि चीनले बिहीबार युक्रेन युद्धका पक्षहरूलाई ‘गैरजिम्मेवारपूर्ण टिप्पणी’ नगर्न चेतावनी दिएको छ ।

युक्रेनी सेनाले पूर्वी डोनेट्स्क क्षेत्रमा दुई चिनियाँ सैनिकलाई पक्राउ गरेको दाबी गरेको एक दिनपछि मस्कोको आक्रमणमा सहयोग गर्न तैनाथ गरिएका एक सय ५५ चिनियाँ नागरिकको विवरण किएभसँग रहेको जेलेन्स्कीले बुधबार बताउनुभएको थियो ।

बिहीबार जेलेन्स्कीको भनाइबारे सोधिएको प्रश्नमा पैचिङको विदेश मन्त्रालयले ‘सम्बन्धित पक्षहरूलाई’ ‘गैरजिम्मेवारपूर्ण टिप्पणी व्यक्त गर्नबाट टाढा रहन’ भन्यो ।

“हामी सम्बन्धित पक्षहरूलाई चीनको भूमिका सही र स्पष्ट रूपमा पहिचान गर्न सल्लाह दिन्छौँ”, मन्त्रालयका प्रवक्ता लिन जियानले युक्रेन वा जेलेन्स्कीको नाम उल्लेख नगरी नियमित समाचार ब्रिफिङमा भन्नुभयो ।

रुससँगको घनिष्ठ सम्बन्धले मस्कोलाई महत्त्वपूर्ण आर्थिक र कूटनीतिक समर्थन दिएको भन्दै पश्चिमी सरकारहरूले आलोचना गरे तापनि तीन वर्षको युद्धमा चीनले आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गरेको छ ।

“युद्ध कारबाहीमा चिनियाँ नागरिकहरूको प्रत्यक्ष संलग्नता… युद्ध विस्तार गर्ने दिशामा एक जानाजानी कदम हो”, जेलेन्स्कीले बुधबार भन्नुभयो ।

“उनीहरूले अन्य देशहरूलाई युद्धमा तान्छन्”, जेलेन्स्कीले रुसका बारेमा भन्नुभयो, “मलाई विश्वास छ कि उनीहरूले अब चीनलाई यो युद्धमा तान्दैछन् ।”

लिनले पैचिङले ‘सधैँ आफ्ना नागरिकहरूलाई… कुनै पनि प्रकारको सशस्त्र द्वन्द्वमा संलग्न हुनबाट जोगिन आवश्यक रहेको’ बताउनुभयो ।

“चीन युक्रेन सङ्कटको निर्माता वा पक्ष होइन । हामी शान्तिपूर्ण समाधानका कट्टर समर्थक र सक्रिय प्रवद्र्धनकर्ता हौँ”, उहाँले भन्नुभयो । एएफपी

Facebook Comments

सम्बन्धित समाचार