Fri. May 29th, 2026

ट्रम्पको व्यापार युद्धका कारण युरोपलाई ‘स्वतन्त्रता’ तर्फ अगाडि बढाउनु पर्छ : इसिबी प्रमुख

       

पेरिस, २०८१ चैत १८ गते सोमबार । युरोपेली केन्द्रीय बैंक (इसिबी) का अध्यक्ष क्रिस्टिन लागार्डले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार महसुलको लहर ल्याउन तयारी गरिरहेको बेला युरोपले आर्थिक स्वतन्त्रतातर्फ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई ‘संसारका हरेक देशले लुटेको’ आरोप लगाउँदै ट्रम्पले बुधबार विभिन्न व्यापारिक साझेदारहरूमाथि पारस्परिक भन्सार महसुल लगाउने प्रतिज्ञा गर्नुभएको छ । यसलाई उहाँले ‘मुक्ति दिवस’ भन्नुभएको छ ।

लागार्डले फ्रान्स इन्टर रेडियोलाई युरोपले ‘अस्तित्वको क्षण’ को सामना गरिरहेको बताउनुभयो ।

“उहाँले यसलाई संयुक्त राज्य अमेरिकामा ‘मुक्ति दिवस’ भन्नुहुन्छ । मैले यसलाई एक यस्तो क्षणको रूपमा देख्छु जुन बेला हामीले सामूहिक रूपमा हाम्रो भाग्यमाथि अधिक नियन्त्रण लिने निर्णय गर्नुपर्छ र मलाई लाग्छ यो स्वतन्त्रतातर्फको एक कदम हो”, युरोपेली सङ्घ (इयु) ले अमेरिकी भन्सार महसुलको जवाफ तयार गरिरहेको बेला लागार्डले भन्नुभयो, “प्रभावकारी रूपमा वार्ता गर्ने स्थितिमा आफूलाई राख्नका लागि हामी झुक्ने मात्र छैनौँ भनेर हामीले देखाउनुपर्छ ।”

इसिबीको अनुमान अनुसार ट्रम्पको व्यापार युद्धले पहिलो वर्षमै युरोक्षेत्रको अर्थतन्त्रलाई शून्य दशमलव तीन प्रतिशतले घटाउन सक्छ र यदि युरोपेली सङ्घले प्रतिकार गरेमा शून्य दशमलव पाँच प्रतिशतले घट्न सक्छ ।

“व्यापार युद्धले केवल हारहरू मात्र सिर्जना गर्छ”, लागार्डले भन्नुभयो । एएफपी

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read