चीनले लिने महत्वपूर्ण निर्णयले विश्वव्यापी प्रभाव पार्ने विज्ञहरुको धारणा
रमेश हतुवाली/काठमाण्डू, २०८१ फागुन २२ गते बिहीबार । चीनले लिने महत्वपूर्ण निर्णयहरुले विश्वव्यापी प्रभाव पार्ने विज्ञहरुले बताउनु भएको छ । चिनियाँँ राष्ट्रिय जन कांग्रेस र चिनियाँ जनराजनैतिक परामर्श दात्री सम्मेलनको १४ औं राष्ट्रिय समितिको तेस्रो अधिवेशनका सन्दर्भमा आज साँझ काठमाण्डूमा आयोजित अन्तरक्रियामा बोल्दै विज्ञहरुले सो विचार व्यक्त गर्नुभएको हो ।

काठमाण्डूस्थित रे टेलिभिजन एचडीको आयोजना र चाइना ग्लोवल टेलिभिजन नेटवर्क सीजीटिएन नेपाली विभागसँगको सहकार्यमा आयोजित अन्तरक्रियामा बोल्दै वरिष्ठ लेखक तथा परराष्ट्रवीद् हिरण्यलाल श्रेष्ठले जारी अधिवेशनहरु चीनको समावेशी विश्वव्यापीकरणको नीति र चिनियाँ लोकतन्त्रको अभ्यास भएको बताउनु भयो । परराष्ट्रवीद् श्रेष्ठले विश्व भूमण्डलीकरण, नेपालको जटिल भूराजनीतिक अवस्थिती र नेपाल–चीन सम्बन्धबारे चर्चा गर्नुहुँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनले लिने हरेक निर्णयले विश्वलाई प्रभावपार्ने धारणा व्यक्त गर्नुभयो ।

अन्तरक्रियामा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा चीन विज्ञ गंगा प्रसाद उप्रेतीले चीनको नियमित संसद अधिवेशन विश्वकै लागि चासोको विषय भएको बताउनुभयो । दुवै अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै उप्रेतीले चीनको गरिबी निवारण, कृषि क्रान्ती र नवप्रवर्तनको विकास विश्वलाई चकित पार्ने खालको भएको जानकारी पनि दिनुभयो ।

जनवादी गणतन्त्र चीनका लागि पूर्व नेपाली राजदूत तथा राजनीतिज्ञ टंक प्रसाद कार्कीले चीनले आफ्नो दिगो विकाससँगै छिमेकीको पनि दिगो विकास हुनपर्ने अवधारणा लिएकोले नेपालले पनि सोहि अनुसार चीनसँग सहकार्य गरेर लाभ लिन सक्नुपर्ने बताउनुभयो । चीनले लिएको लक्ष्य निर्धारित समय भन्दा अगाडि नै पुरा गर्ने गरेको उल्लेख गर्दै उहाँले चीनको व्यवहार र गतिविधिहरुलाई विश्वले हेरिरहेको बताउनुभयो ।

नेपाल-चीन मैत्री मञ्चका अध्यक्ष डाक्टर कल्याणराज शर्माले चीनको परनिर्भरता भन्दा पनि नवप्रवद्र्धन गरेर आत्मनिर्भर बन्नुपर्ने अवधारणाबाट पाठ सिकेर नेपालले चीनसँग सहकार्य गरि आत्मनिर्भर बनेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का महासचिव दिलिप आचार्यले चीनले आफ्नो मात्र नभई मानव समुदायको साझा हित र भविष्य भनेर अगाडि बढेको बताउनुभयो । चीनको प्रगतिबाट नेपालले पनि आफ्नो वस्तुगत अवस्थालाई बुझेर प्रधानमन्त्री लि छ्याङले प्रस्तुत गर्नुभएको नवप्रवर्तन, जनउत्थान र सुधारको नीतिबाट नेपालले पनि सिकेर लाभ लिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मकालु प्रकाशन गृह तथा सोपान प्रेसका व्यवस्थापक राजेन्द्र ढकालले चीनको विकासको पछाडी भुमिका निर्वाह गर्ने नवप्रवर्तकहरुका बारेमा पुस्तक प्रकाशन गर्ने अवसर पाएको उल्लेख गर्दै चीनको गरिवि निवारण, कृषि क्रान्ती, प्रविधिको बिकास जस्ता कुराहरुबाट सिकेर नेपाल अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टका महासचिव प्रभात चलाउनेले चीनने छोटो समयमा व्यवस्थित रुपमा गरेको विकासले विश्वलाई नै चकित पारेको उल्लेख गर्दै यो विकासले विश्वमा आशा साथै अमेरिका लगायतका पश्चिमा मुलुकहरुमा भने त्रास समेत सिर्जना गरेको बताउनुभयो ।

चाइना ग्लोवल टेलिभिजन नेटवर्क (सीजीटिएन) नेपाली विभागका प्रमुख लिउ वन सुमेघाले अन्तरक्रियामा भिडियो सन्देश मार्फत अधिवेशनमा नेपालको सुखी नेपाल निर्माणमा समेत सहकार्य गर्ने कुरा उठेको भन्दै नेपाल र चीन परम्परागत मित्रता सँगसँगै थप अवसर र उपलब्धीसँगैको विकासको साझेदार पनि बन्ने बताउनुभयो ।

रे टेलिभिजन एचडीका अध्यक्ष प्रकाशबाबु पौडेलले अन्तरक्रियाका विषयहरुका बारेमा प्रकाश पार्दै दुवै अधिवेशनमा प्रस्तुत गरिएका सरकारी प्रतिवेदनमा एआई, नयाँ उर्जा विस्तार, खुल्ला नीति, बजार विस्तार र चीनको विकास विश्वका अन्य मुलुकले पनि प्राप्त गर्न सकोस भन्ने नीतिहरु बोकेकोले छिमेकी नेपालले चीनसँग सहकार्य गरेर धेरै भन्दा धेरै लाभ लिन सक्नुपर्ने बताउनुभयो ।

सो अन्तरक्रियालाई रे टेलिभिजन एचडी र क्यापिटल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए ।


