Mon. Apr 29th, 2024

अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता हुदै

- पोम्पेओले अफगान सरकार र तालिबान वार्ता टोलीसँग छुट्टाछुट्टै वार्ता गर्ने

काबुल, २०७७ भदौं २७ गते शनिबार

अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ । अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबान समूहसँगको वार्ता टोली शनिबार हुने शान्ति वार्ता गर्नका लागि कतारको दोहा पुगिसकेको बताइएको छ ।

अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिबान समूहसँग अफगानिस्तान सरकारले वार्ता गर्ने तयारी गरेको हो । तालिबान समूहले पनि एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पठाएको जानाएको छ । तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि वार्ता गर्ने अन्तिम तयारी भएको जनाइएको छ ।

पछिल्लो समयमा दुबैतर्फका कैदीहरूको आदानप्रदानको विवादका कारण केही ढिला गरी सो वार्ता शुरु हुन लागेको हो । गत मार्च महिनामा हुने भनिएको यो वार्ता यसै कारणले पछि धकेलिएको र शनिबारबाट शुरु हुने बताइएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र सेनालाई स्वदेश फिर्ता लिनको लागि तयार भएपछि यो वार्ताको वातावरण बनेको हो । उहाँले यसलाई आफ्नो महत्वपूर्ण नीतिका रुपमा प्राथमिकता दिँदै आउनुभएको छ ।

त्यसैगरी सो वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुग्नुभएको बताइएको छ । उहाँले शुक्रबार कतारका लागि छुट्नुअघि अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने एउटा पहल भएको बताउनुभएको थियो ।

गएको फेब्रुअरी महिनामा संयुक्तराज्य अमेरिकासँग सम्झौता हुनुअघि तालिबान समूहले अफगान सरकारसँग वार्ता नगर्ने अडान राखेकामा पछिल्ला केही हप्तामा तालिबान र अमेरिकी सरकारले तालिबानहरुका मागहरु सम्बोधन गरेपछि उनीहरु वार्ताका लागि तयार भएका हुन् ।

अफगान सरकारले वार्ताका लागि सरकारी र विपक्षी दलका प्रतिनिधिहरु समेत समावेश गरेर वार्ता टोली बनाएको छ । दुवै तर्फका वार्ता टोलीहरु दोहा पुगेका छन् ।
गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाका बीचमा कतारको राजधानी दोहामा अफगानिस्तानमा शान्ति स्थापनाका लागि वार्ता गर्ने र त्यसको मध्यस्थता अमेरिकाले गर्ने सम्झौता भएको थियो ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगान सरकार र तालिबान वार्ता टोलीसँग छुट्टाछुट्टै वार्ता गर्ने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कतारको दोहामा अफगानिस्तानको सरकार र विद्रोही तालिबानहरुको शान्ति वार्ता टोलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने भएको छ । कतारको दोहामा आजदेखि अफगान सरकार र तालिबानबीच शान्ति वार्ता शुरु हुन लागेको छ । सो वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुग्नुभएको बताइएको छ ।

उहाँ शुक्रबार नै कतार पुग्नुभएको हो । उहाँले अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता सबैभन्दा लामो युद्ध अन्त्य गर्ने अमेरिकाको एउटा पहल भएको बताउनुभएको छ । हाल दोहामा रहेका अफगानिस्तान सरकारको शान्ति वार्ता टोली र तालिबानहरुको शान्ति वार्ता टोलीसँग उहाँले छुट्टाछुट्टै भेटवार्ता गर्न लाग्नुभएको कतारको दोहामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताको मध्यस्थता गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ कतारको दोहा जाने जानकारी हिजो नै दिनुभएको थियो ।

गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाका बीचमा कतारको राजधानी दोहामा भएको सम्झौता पछि अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी शुरु हुन लागेको हो भनि गोरखापत्र अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments