Sat. Mar 15th, 2025 01:36:24

शहीद सप्ताह सुरुः शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली   

काठमाण्डू, २०८१ माघ १० गते बिहीबार । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ ।

काठमाण्डू महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ ।

शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उहाँको सालिकमा काठमाण्डू  महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गर्नुभययोे ।

वि.सं. १९५० मा वनारसमा जन्मनुभएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय हुनुहुन्थ्यो । उहाँलाई काठमाण्डूको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो । राणा सरकारले उहाँलाई १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।

शास्त्रीको श्रद्धाञ्जलीसभा भएको उक्त स्थानलाई २०३५ मा तत्कालीन काठमाण्डू  नगर पञ्चायतले शिलालेख राखी संरक्षण गरेको हो ।  रासस

Facebook Comments