Sat. Jan 4th, 2025

बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल

गलकोट (बागलुङ) , २०८१ पुस १४ गते आइतबार । ढोरपाटन नगरपालिका-१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

पचास शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै बताउनुभयो ।

वि.सं. २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । वि.सं. २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न रु ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो ।

राससका अनुसार  गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो । अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि रु १२ करोड विनियोजन गरिएको थियो ।

Facebook Comments