Sat. Sep 21st, 2024

महिन्दा राजापाक्ष श्रीलङ्काको नयाँ प्रधानमन्त्री नियुक्त, शपथ सम्पन्न

काठमाडौं, २०७७ साउन २५ गते आईतबार

श्रीलङ्का पोदुजाना पेरामुना पार्टीका नेता एवम् पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलङ्काको प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

राजापाक्षले श्रीलङ्काको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानीया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको सपथ लिनुभएको थियो । सपथ कार्यक्रममा कूटनीतिक समुदायका व्यक्ति तथा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको उपस्थिति थियो । राजापाक्षले श्रीलङ्कामा योसहित चौथो पटक प्रधानमन्त्री पदको सपथ लिनुभएको छ ।

राजापाक्षको दल पेरामुनाले गत अगष्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसदमा १४५ स्थानमा जितेको थियो । उहाँको नयाँ मन्त्रिपरिषद् यही साताको अन्त्यसम्ममा घोषणा हुनेछ । श्रीलङ्काली निर्वाचन आयोगका अनुसार गत बुधबार सम्पन्न चुनाव श्रीलङ्काको इतिहासमै पहिलो पटक सर्वाधिक शान्तिपूर्वक रुपमा सम्पन्न भएको थियो । कोरोनाभाइरसको महामारीका बाबजूद यस चुनावमा करिब ७१ प्रतिशत मतदान भएको थियो ।

श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजापाक्षका अनुसार नयाँ संसदको बैठक आगामी अगस्ट २० मा शुरु हुनेछ । श्रीलङ्काली इतिहासमा भाइ गोटाबाया राष्ट्रपति र दाइ महिन्दा राजापाक्ष एकै पटक मुलुकका दुई सर्वोच्च राजनीतिक पदमा पुग्नुभएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments