बिआरआईमा ऋणको साटो अनुदान लिनुपर्छ : कांग्रेस सभापति देउवा
महेन्द्रनगर (धनुषा), २०८१ मंसिर १० गते सोमबार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताउनुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न आउनुभएका सभापति देउवाले आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले ऋण लिनु ठीक नभएर अहिले अनुदान नै उपयुक्त भएको बताउनुभयो ।
सभापति देउवाले चीन नेपालको असल मित्रराष्ट्र भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो ।
फरक प्रसङ्गमा सभापति देउवाले मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कांग्रेस एक्लैले केही गर्न नसक्ने भएकाले यसका लागि गठबन्धन दलभित्र छलफलको आवश्यकता रहेको बताउनुभयो ।
सभापति देउवाले कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस