कृषि प्राविधिकका निम्ति क्षमता अभिवृद्धि तालिम सुरु
- मुना कृषि लिमिटेड
रमेश हतुवाली/काठमाण्डू, २०८१ मंसिर ३ गते सोमबार । कृषि प्राविधिकका निम्ति कृषि खाद्य प्रणाली रुपान्तरण सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम ललितपुरमा सुरु भएको छ । नेपालस्थित संयुक्त राष्ट्र संघ अन्तर्गत खाद्य तथा कृषि संगठनको आयोजना र मुना कृषि लिमिटेडको परिकल्पना तथा व्यवस्थापनमा सुरु भएको सो तालिममा ७ वटै विकास क्षेत्रका कृषि क्षेत्रसँग सम्बन्धित ३४ जना प्राविधिहरुको सहभागिता रहेको छ ।
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदैनेपालस्थित संयुक्त राष्ट्र संघ अन्तर्गत खाद्य तथा कृषि संगठनका प्रमुख केन सिमिजुले नयाँ पुस्तामा कृषि क्षेत्रप्रतिको आकर्षण कम हुँदै जानु चिन्ताको विषय भएको बताउनु भयो । नयाँ पुस्तालाई कृषि क्षेत्रमा आकर्षण गर्नु आवश्यक रहेको बताउनुहुँदै सिमिजुले जलबायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असर लगायतका विभिन्न विषयमा चर्चा गर्नुभयो । साथै उहाँले मुना कृषिले छोटो समयमा हासिल गरेका उपलब्धिहरु महत्वपूर्ण रहेको भन्दै नेपालको कृषि क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने बताउनुभयो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा. हरि बहादुर केसीले स्थानीय उत्पादन र स्थानीय बजारलाई जोड दिनुपर्ने बताउनु भयो । स्थानीय तहले कृषि क्षेत्र विकासको नीति, आवधिक योजना र कानुनी संरचना तयार गरी त्यसैमा टेकेर काम गर्नु आवश्यक रहेको डा. केसीको भनाइ छ ।
खाद्य तथा गुणस्तर विभागका पूर्वमहानिर्देशक जीवनप्रभा लामाले प्रायजसो उद्योगहरुमा नयाँ पुस्तामा पेशा हस्तान्तरण भए पनि नयाँ पुस्ताले आधुनिक प्रविधि प्रयोग गरेको नपाईएको जानकारी दिनुभयो । साथै उहाँले दीगो कृषिका लागि युवा पुस्तालाई प्रोत्साहित गर्नुपर्ने र परम्परागत शिप र शैलीलाई समयअनुसार परिवर्तन गर्न जोड दिनुभयो ।
मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङले रैथाने बाली, रैथाने उत्पादन, रैथाने प्रविधि र रैथाने संस्कृतिको प्रबद्र्धन गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।
मुना कृषि लिमिटेडका प्रबन्ध निर्देशक सिता पाण्डेले तीन दिने तालिममा सम्बन्धित क्षेत्रका विशेषज्ञहरुले नेपालको कृषि नीति, उत्पादन, बजारीकरण, अवसर र चुनौती लगायतका विभिन्न विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने रे टेलिभिजनलाई जानकारी दिनुभयो ।
फोटो : भ्वाईस अफ काठमाण्डूका लागि रमेश हतुवाली