Sat. Nov 23rd, 2024

निवर्तमान प्रदेश मन्त्री अधिकारीलाई काठमाण्डू ल्याइँदै   

काठमाण्डू, २०८१ कात्तिक २५ गते आइतबार । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर आज काठमाण्डू ल्याउँदै छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरी अहिले अपराह्न अधिकारीलाई काठमाण्डू ल्याउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको थियो, अहिले काठमाण्डू ल्याइँदै छ ।”

यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएकाे प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङले पनि अधिकारी पक्राउ परेको पुष्टि गरेकाे छ ।

यसैगरी नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई गरेको कारबाहीलाई शनिबारको एमाले केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

Facebook Comments