Thu. Nov 14th, 2024

गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु   

गाजा ,२०८१ कात्तिक २४ गते शनिबार । गाजामा शनिबार भएको इजरायली हमलामा १४ जना प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार मृत्यु हुनेमा अधिकाशं महिला तथा बालबालिका रहेका छन् ।

खान युनिसको दक्षिणी क्षेत्र स्थित विस्थापित प्यालेस्टिनीको निवासमा भएको हमलामा उनीहरुको मृत्यु भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले बताउनु भएको छ ।

प्यालेस्टिनी मानव अधिकारवादी संस्था रेड क्रिसेन्टले आक्रमणमा घाइते भएका ११ जनालाई उपचारका लागि अस्पतालमा लगिएको पुष्टि गरेको छ ।

एएफपीका अनुसार गाजाको अल–तुफाह जिल्ला स्थित हजारौं विस्थापितको आश्रय स्थल फहद अल–सबाह स्कूलमा भएको इजरायली आक्रमणमा बच्चासहित पाँच जनाको मृत्यु हुनुका साथै करिब २२ जना घाइते भएको बासलले जनाउनु भएको छ । उहाँले घाइतेहरूलाई अल–अहली अरब अस्पतालमा लगिएको बताउनु भएको छ ।

यसैबीच, इजरायली सेनाले उत्तरी गाजाको जबालिया क्षेत्रमा दर्जनौँ आतङ्ककारीको मृत्यु भएको जनाएको छ भने रफाहमा धेरै लडाकुहरूको मृत्यु भएको जनाएको छ ।

सेना हाल लेबनानमा हिजबुल्लाह र गाजामा हमाससँग लडिरहेका सैनिकहरूसँग दुई मोर्चाको युद्धमा संलग्न छ । पछिल्लो आक्रमणमा सनाले लेबनान र गाजामा ५० भन्दा बढी आतंककारी लक्ष्यहरूमा आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ । आक्रमण सैन्य संरचना, हतियार भण्डारणलगायतका क्षेत्र लक्षित रहेको विज्ञप्तीमा जनाइएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार इजरायलको सैन्य आक्रमणले अधिकाशं नागरिकसहित कम्तिमा ४३ हजार ५०८ जनाको ज्यान लिइ सकेको छ ।

Facebook Comments