Thu. Oct 31st, 2024

इजरायलको मन्त्रिपरिषद्ले लेबनानको युद्धविराम ढाँचाबारे छलफल गर्दै : मन्त्री

जेरुसलेम, २०८१ कात्तिक १४ बुधबार । इजरायली ऊर्जामन्त्री एली कोहेनले बुधबार इजराइलको सुरक्षा मन्त्रिपरिषद्ले लेबनानको दक्षिणी भूभागमा भइरहेको इजरायली सेनाको स्थल आक्रमणसँग सम्बन्धित युद्धविराम सम्झौताका शर्तहरूबारे छलफल गरिरहेको बताउनुभएको छ ।

“छलफल भइरहेका छन्, मलाई लाग्छ यसलाई अझै केही समय लाग्नेछ”, कोहेनले इजरायली सार्वजनिक रेडियोलाई भन्नुभयो ।

इजरायलको च्यानल १२ टेलिभिजनका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मङ्गलबार बेलुका मन्त्रीहरूसँग ६० दिनको युद्धविरामको बदलामा इजÞरायलका मागका बारेमा वार्ता गर्नुभएको थियो ।

यसमा इजरायली सीमाबाट करिब ३० किलोमिटर टाढा लितानी नदीको उत्तरी भागबाट हिजबुल्लाहलाई पछि हटाउने, लेबनानी सेनाको तैनाथी, युद्धविराम कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय हस्तक्षेप प्रणाली र खतरा भएको अवस्थामा इजरायलले आफ्नो कारबाहीको स्वतन्त्रता कायम राख्ने गारन्टी समावेश छ ।

“यी गत महिनाहरू र विशेषगरी गत हप्ताहरूमा सेनाले गरेका सबै अभियानलाई धन्यवाद । सम्पूर्ण हिजबुल्लाहलाई समाप्त गर्न र हिजबुल्लाहका दुई हजारभन्दा बढी आतङ्ककारी पूर्वाधारहरू निशाना बनाएपछि इजरायल बलियो स्थितिमा आउन सक्छ”, कोहेनले भन्नुभयो ।

इजरायली मिडियाका अनुसार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनका मध्यपूर्वका सल्लाहकार ब्रेट मकगर्क र विशेष दूत एमोस होक्सस्टिन बुधबार क्षेत्रमा आउनुहुनेछ र हिजबुल्लाहसँगको युद्धविरामका लागि शर्तहरूबारे नेतान्याहु र अन्य इजरायली अधिकारीहरूसँग छलफल गर्नुहुनेछ ।

लेबनानमा यो युद्ध गत महिनाको अन्त्यतिर शुरू भएको थियो । यो हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणको समर्थनमा हिजबुल्लाहले गरेको सीमापारको कम तीव्रता आक्रमणबाट शुरू भएको थियो ।

लेबनानमा यो युद्धमा सेप्टेम्बर २३ यता कम्तीमा एक हजार सात सय ५४ जनाको ज्यान गएको छ । इजरायली सेनाले सेप्टेम्बर ३० देखि लेबनान अभियान सुरु गरेयता त्यहाँ ३७ जना सैनिकको ज्यान गएको बताएको छ ।

Facebook Comments