Fri. Nov 22nd, 2024

बङ्गलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब   

ढाका, बङ्गलादेश, २०८१ कात्तिक १२ गते सोमबार । गत अगस्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब परेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन् ।

‘छुप्पु’ भनेर चिनिने ७४ वर्षीय शहाबुद्दीन सन् २०२३ मा अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिगको बहुमत रहेको संसद्बाट निर्वाचित हुनुभएको थियो ।

यो पद संवैधानिक भएपनि उहाँको पदबाट हट्ने सम्भावनाले संवैधानिक शून्यताको डर पैदा गरेको छ ।

“राष्ट्रपतिलाई हटाउनेबारे कुनै पनि निर्णय राजनीतिक सहमतिका आधारमा हुनेछ,” हसिनाको भारत पलायनसँगै घोषणा भएको राजिनामापछि बनेको अन्तरिम सरकारका प्रेस सल्लाहकार शफिकुल आलमले सोमबार भन्नुभयो ।

अन्तरिम सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले ‘मुख्य सल्लाहकार’का रूपमा गरिरहनुभएको छ ।

एएफपीका अनुसार सरकारका प्रवक्ता सैयदा रिजवाना हसनले शहाबुद्दीनलाई हटाउने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।

हसनले आइतबार पत्रकारहरूसँग भन्नुभयो, “क्रान्तिपछि बनेको सरकारले फासीवादी सरकारले छानेको राष्ट्रपतिलाई कायम राख्ने कि नराख्ने भन्ने विषयमा विचार गर्नुपर्छ।”

“उहाँलाई हटाउनुपर्ने माग आन्दोलनको भावनासँग मेल नखाने दाबीका आधारमा आएको हो,” उहाँले भन्नुभयो।

यसै महिनाको सुरुमा शहाबुद्दीनले हसिनाको राजीनामा पत्र आफूले कहिल्यै नदेखेको बताएपछि चर्को विरोध भएको थियो ।

त्यसको केही समयपछि युनुसको सरकारमा कार्यरत विद्यार्थी नेता आसिफ नजरुलले उक्त टिप्पणी ‘उहाँ (राष्ट्रपति) को शपथको उल्लङ्घन’ भएको आरोप लगाउनुभएको थियो ।

गत हप्ता राष्ट्रपति भवनपरिसरमा आक्रमण गर्न खोज्ने सयौंको भीडसँग प्रहरीबीच झडप हुँदा ३० जना अधिकारी र प्रदर्शनकारी घाइते भएका थिए ।

Facebook Comments