Mon. Oct 28th, 2024

आइसिसी पुरुष क्रिकेट विश्वकप : नेपालद्वारा अमेरिकालाई २८७ रनको लक्ष्य   

काठमाण्डू, २०८१ कात्तिक १२ गते सोमबार । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकालाई २८७ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राती भएको खेलमा नेपालले अमेरिकालाई उक्त लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २८६ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडलले शानदार प्रदर्शन गरे । उनले ७५ बलमा ९६ रन बनाए । सोही क्रममा उनले तीन छक्का र ८ चौका प्रहार गरे । नेपालका लागि अनिल साहले ६२ बलमा ५६ रन बनाए । उनले ५ चौका प्रहार गरे । यस्तै आशिफ शेखले ५३ बलमा ५२ रन बनाए । सो क्रममा उनले एक छक्का र ७ चौका प्रहार गरे ।

राससका अनुसार  कुशल भुर्तेलले २८ बलमा ११ रन, आरिफ सेखले एक छक्का र दुई चौका प्रहार गर्दै ४५ बलमा ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ बलमा १३ रन, गुल्सन झाले ३ बलमा एक रन, सोमपाल कामीले चार बलमा दुई रन, सन्दीप लामिछानेले ११ बलमा ५ रन र करण केसीले तीन बलमा तीन रन बनाएर आउट भए ।

नेपालका लागि ललित राजवंशीले एक बलमा एक रन बनाए । अमेरिकाका लागि नोसथुस केन्जिगेले सर्वाधिक चार विकेट लिए । उनले ५२ रन खर्चिए । सौरभ नेत्रावलकरले ६३ रन खर्चिदैँ दुई विकेट लिए । जसदीप सिंह, हरमित सिंह र स्याड्ली भान श्यालवाएकले समान एकएक विकेट लिए । जसदीपले ६४ रन, हरमितले ४६ र स्याड्ली भान श्यालवाएकले ५७ रन खर्चिएका हुन् ।

नेपालले अतिरिक्त नौ रन पाएको हो । नेपालले दोस्रो खेल मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ । लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् ।

Facebook Comments