Fri. Oct 25th, 2024

संयुक्त राष्ट्रसंघ दिवस भव्य रुपमा मनाइयो

काठमाण्डू, २०८१ कात्तिक ९ गते शुक्रबार । नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी संयुक्त राष्ट्रसङ्घको ७९ औं स्थापना दिवस मनाईएको छ । विश्वभर शान्ति, भातृत्व, एकता, मैत्री र मेलमिलाप प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९४५ अक्टोबर २४ का दिन स्थापना भएको संयुक्त राष्ट्रसंघको ७९औँ स्थापना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा हिजो बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।

Nepal-Army___-1729856467.jpg
प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको सो समारोहमा पूर्व प्रधानसेनापति, रक्षा सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको पनि उल्लेख्यरुपमा सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्रसङ्घको ७९ औं स्थापना दिवसका अवसरमा नेपाली सेनाद्वारा विभिन्न कार्यक्रमको आयोजना, नेपालले शान्ति, समानता, सहयोग र द्वन्द्वका स्थानमा शान्तिपूर्ण विश्वको निर्माण गर्ने शंकल्प लिएको प्रधानमन्त्री ओलीको भनाइ ।।

राससका अनुसार  कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च-पास र विभिन्न समुदायको नृत्य प्रदर्शन गरिएको थियो भने तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको समेत प्रस्तुति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य देश मात्र नभएर विश्व शान्तिको हिमायती समेत भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस दशकका लागि नेपालले शान्ति, समानता, सहयोग र द्वन्द्वका स्थानमा शान्तिपूर्ण विश्वको निर्माण गर्ने शंकल्प लिएको पनि बताउनुभयो ।

KP-Oli_-1729856501.jpg

केपी शर्मा ओली, प्रधानमन्त्री

प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसंघको ७९औँ स्थापना दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुहुँदै नेपाली सेनाले शान्ति, सुरक्षा र अन्तर्राष्ट्रिय सहयोगमार्फत विश्वलाई अझ शान्तिप्रिय बनाउन महत्पूर्ण भूमिका निर्वाह गरिरहेकोे जानकारी दिनुभयो ।

Ashok-Raj-Sigdel_-1729856541.jpg
अशोकराज सिग्देल, प्रधान सेनापति

नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो । संयुक्त राष्ट्रसंघको सदस्य भएको तीन वर्षपछि नेपालले विश्वका विभिन्न भागहरुमा शान्ति र अमनचैन कायम गर्ने उद्धेश्यसाथ शान्ति सैनिक परिचालन सुरु गरेको थियो ।

Nepal-Army-Heli_-1729856582.jpg
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तर्फबाट अहिले ६ हजार १ सय ४१ जना शान्ति मिसनका लागि विश्वका विभिन्न देशहरुमा खटिएका छन् ।

Facebook Comments