धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर
गण्डकी, २०८१ असोज २८ गते सोमबार । पोखरा महानगरपालिका–३३ आँपु कसेरीस्थित मनिथान मन्दिर दुुई सय वर्षअघिदेखिको इतिहासको साक्षी हो ।
यस क्षेत्रमा बस्ती विकास हुँदादेखि नै स्थापित यस मन्दिरमा प्रत्येक वर्षको फागुपूर्णिमामा विशेष पूजा हुन्छ भने अन्य समयमा पनि भाकलका साथै सामान्य पूजाआजा हुने गरेको छ । फागुपूर्णिमामा स्थानीयले सामूहिक रूपमा पञ्चबलिसहित विशेष पूजा गर्ने गरेका छन् ।
यहाँबाट देखिने पोखरा र लेखनाथ क्षेत्रका ताल तथा पोखरा उपत्यका क्षेत्रको सुन्दर दृष्यले जोकोहीलाई लोभ्याउने गरेको मनिथान संरक्षण समितिका सल्लाहकार शिवबहादुर थापाले बताउनुुभयो । मन्दिर परिसरबाट धवलागिरि, माछापुच्छे, अन्नपूर्णलगायत आधा दर्जन हिमाल एकैसाथ अवलोकन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
यहाँ आसपास क्षेत्रका चण्डी देउराली, कोटभैरव, कण्ठदेवी मन्दिर पनि धार्मिक महत्वका तीर्थस्थल हुन् । पृथ्वी राजमार्गका विभिन्न स्थानका साथै सेती नदी, रुपाकोट, पुम्दी तथा नवलपुरका देवचुली, बरचुलीलगायत मनोरम दृश्य यहाँबाट देख्न सकिन्छ । त्यस्तै लामेआहाल, कालिका मन्दिर, हेल्मेट डाँडालगायत स्थानका दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।
राससका अनुसार मन्दिर वरपरको करिब ३० रोपनी क्षेत्रफलमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । मनिथानको पुरानो मन्दिर नजिकै दुई वर्षअघि नयाँ मन्दिर स्थापना गरिएको छ । यहाँस्थित पुरानो मन्दिरमा शिलाका साथै मौलामा नै पूजा गर्ने गरिएको र नयाँ मन्दिरमा मुक्तिनाथकै स्वरूपमा भगवान् विष्णु एवं लक्ष्मीको मूर्ति स्थापना गरिएको थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्दिर परिसरमा तीन वटा वनभोज स्थल (पिकनिक स्पोर्ट), खेल मैदान, शौचालय, प्रतिक्षालयलगायत संरचना निर्माण गरिएका छन् । यी संरचना निर्माणमा स्थानीय सरकारसँगै चन्दादाता तथा सहयोगीबाट प्राप्त करिब रु ५० लाख खर्च भएको सल्लाहकार थापाले बताउनुभयो । “अब यहाँको धार्मिक पर्यटकीय महत्वलाई प्रचारप्रसार, मन्दिरसम्म पुुग्ने बाटोलाई थप व्यवस्थित एवं खानेपानीको सुविधालाई सहज बनाउन सबैको साथ र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।
मन्दिरको संरक्षणमा यहाँका गुुरुङ समुदायले विशेष सक्रियता देखाएका छन् भने अन्य स्थानीय जनसमुदायले पनि यसको प्रवर्द्धन र विकासमा योगदान गर्दै आएका छन् । उच्च भूूभाग भएकाले यहाँ लालीगुराँस, विभिन्न प्रजातिका वनस्पति तथा जडीबुटीहरूसमेत पाइन्छन् ।
मोटरबाटोमार्फत मन्दिरसम्म पुुग्नका लागि छप्ल्याङ, ठूलोपाखा, मुहानखोला स्कुल, जौबारी, देउराली डाँडा, चिसापानी, कसेरी, आँपु हुँदै मनिथान पुग्ने बाटो रहेको छ भने अर्को लामगादीबाट आँपुभञ्ज्याङ हुँदै पनि यहाँ आउन सकिन्छ ।
एकदिवसीय हाइकिङका लागि पनि उपयुक्त गन्तव्यका रुपमा विकास गर्न सकिने यो ठाउँ छोटो दूरीमा हिँड्न चाहनेका लागि रोजाइमा पर्नसक्ने भएकाले प्रचारप्रसारमा जोड दिनुपर्ने पोखरा महानगरपालिका–३२ बेलबुटेका युवा हरिष्चन्द्र पौडेल बताउनुहुन्छ । “यो मन्दिर प्राचीन इतिहासको साक्षी पनि हो । त्यसैले यहाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्यटन पूर्वाधार विकासमा जोड दिन आवश्यक छ । यसका लागि स्थानीयवासी, तीनवटै तहका सरकारको सामूहिक प्रयास गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
यहाँको लामेआहालको झोलुुङ्गे पुलहुँदै पुणिटार–लामगादी सडकको लामगादीबाट भालुढुङ्गा खेत, सामुदायिक बनको सालघारी बाटो, चिसापानी, मन्दलीको थान, कसेरी गाउँ हुँदै मनिथानसम्म पदयात्रामार्फत पुग्न सकिन्छ । स्थानीय नवराज घमिरेले पोखराको व्यस्त दैनिकीबाट केही समयका लागि मुक्ति चाहनेहरूले करिब चार घण्टाको पैदल यात्रामै यहाँ पुगेर दृश्यावलोकन गर्न सक्ने अनुुभव सुनाउनुभयो । “हामीले हालै दसैँ बिदाको अवसर पारेर उक्त क्षेत्रमा एकदिने हाइकिङ सम्पन्न गरेका छौँ”, उहाँले भन्नुभयो, “हिमाली दृश्यावलोकनसहित पोखरा र आसपासको एकसाथ अवलोकन गर्नका लागि पनि यो महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुनसक्नेसम्भावना छ ।”
पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा बृहत् पोखराको अवधारणाका साथ आसपासका गन्तव्य प्रवर्द्धन र विकास गर्नसकेमा पर्यटकको बसाइँ अवधि लम्ब्याउन सकिने घिमिरेले बताउनुभयो । “धार्मिक पर्यटनका सम्भावनायुक्त गन्तव्यको प्रवर्द्धन र विकास गर्नसकेमा त्यसले बढ्ने पर्यटकीय गतिविधिले स्थानीयवासीको आयआर्जनमा समेत टेवा पुग्नेछ । मनिथानजस्ता ऐतिहासिकस्थलको महत्वलाई उजागर गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ । यसमा सबै तहका सरकारले लगानी गरे झनै राम्रो हुन्थ्यो”, उहाँले अगाडि भन्नुभयो ।