Sat. Nov 23rd, 2024

सौतेनी भाइ भारतीय रतन टाटाको उत्तराधिकारी बन्ने   

मुम्बई, २०८१ असोज २५ गते शुक्रबार । एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ ।

बुधबार निधन हुनुभएका रतन टाटाको स्थान नोएल टाटाले लिनुभएको छ । रतनले परिवारद्वारा सञ्चालित टाटा समूह सङ्गठनलाई विश्वव्यापी दिग्गजमा परिणत गर्नुभएको थियो ।

आफ्नो निधन हुँदासम्म रतन टाटा ट्रस्ट्सका अध्यक्ष हुनुहुन्थ्यो । ट्रस्ट्सको जटिल स्वामित्व संरचनामार्फत समूहको होल्डिङ कम्पनी टाटा सन्समा करिब ६६ प्रतिशत हिस्सा छ ।

एएफपीका अनुसार  बजार पूँजीकरणको आधारमा भारतको दोस्रो ठूलो कम्पनी आइटी दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेज र बेलायती लक्जरी कार निर्माता जगुआर ल्यान्ड रोभरको स्वामित्व राख्ने टाटा मोटर्सजस्ता फर्महरूमा टाटा सन्स सबैभन्दा ठूलो एकल सेयरधारक हो ।

“टाटा ट्रस्ट्स गठन गर्ने विभिन्न ट्रस्टहरूको अध्यक्षका रूपमा श्री नोएल नवल टाटालाई नियुक्त गर्ने र उहाँलाई अध्यक्षका रूपमा पदनाम दिने सर्वसम्मत निर्णय गरिएको छ”, एक प्रेस विज्ञप्तिमा भनिएको छ, “उहाँको नियुक्ति तत्काल प्रभावकारी हुनेछ ।”

नोएल टाटाले वक्तव्यमार्फत आफू जिम्मेबारीप्रति गहिरो रूपमा सम्मानित र विनम्र रहेको र आफ्नो सौतेनी दाजुको विरासतलाई निरन्तरता दिन तत्पर रहेको बताउनुभएको छ ।

नोएल दशकौँदेखि समूहसँग जोडिनुभएको छ । यद्यपि उहाँ विशेषगरी समूहको अन्त्यन्त सफल पोशाक खुद्रा व्यवसाय ट्रेन्टको अध्यक्षका रूपमा सार्वजनिक रूपमा चिनिनुहुन्छ ।

टाटा ट्रस्ट्स सन् १८९२ मा स्थापना भएको थियो । यसले टाटा ब्रान्डअन्तर्गत आउने सूचीबद्ध फर्महरूको दैनिक कार्यमा कुनै भूमिका निर्वाह गर्दैन बरु आवास, स्वास्थ्य सेवा र शिक्षा परोपकारी संस्थाहरूलाई समर्थन गर्दछ ।

टाटा सन्स समूहको रणनीतिको जिम्मेबारीमा छ र हाल अध्यक्ष एन चन्द्रशेखरनको नेतृत्वमा छ । उहाँलाई सन् २०१७ मा नियुक्त गरिएको थियो ।

टाटा ट्रस्ट्स टाटा सन्सको सबैभन्दा ठूलो सेयरधारक भएकाले यसको अध्यक्षले प्रभावकारी रूपमा विशाल साम्राज्यको निरीक्षण गर्दछ र चन्द्रशेखरनले सम्भावित उत्तराधिकारी निर्णय गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ ।

Facebook Comments