दसैँलाई कोसेली मुस्ताङी स्याउ
म्याग्दी,२०८१ असोज २५ गते शुक्रबार । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किन्नुभयो ।
“छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दसैँमा कासेली लैजाने चलन छ”, उहाँले भन्नुभयो, “अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर भएकाले ग्राहकको रोजाईमा परेको हो ।”
लामो समयसम्म भण्डारण गर्न सकिने र आयातित भन्दा सस्तो भएकाले म्याग्दीलगायत गण्डकी प्रदेशका जिल्लामा दसैँ तिहार जस्ता चाडपर्वमा मुस्ताङी स्याउको खपत धेरै हुने गर्छ ।
बेनीका फलफुल पसलहरुमा बिहीबार दिनभर स्याउ किन्नेको चहलपहल थियो । बेनीका व्यापारी विद्यानन्द शाहले अन्य समयको तुलनामा स्याउको ब्यापार दश गुणा बढी भएको बताउनुभयो ।
“अघिपछि दैनिक १० किलोग्रामको अनुपातमा स्याउ बिक्री हुन्छ,” उहाँले भन्नुभयो, “दसैको याममा दैनिक दुई सय किलोग्राम स्याउ ल्याउँदा पनि पुग्दैन ।” विजयादशमीको टीका र जमरा लगाएपछि स्याउ, केरा, कुराउनी, अम्बा जस्ता फलफुल प्रसाद दिने चलन छ ।
राससका अनुसार घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आर्शीवाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउनै बोकेर जाने गरेको बेनपा–२ की सुजता शर्माले बताउनुभयो ।
कृषक र व्यापारीहरुका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ दसैँमा धेरै खपत हुने गर्छ । स्याउ ब्यापारी सिवाङ तामाङले दसैँका लागि २० ट्रक स्याउ मुस्ताङबाट पोखराको मण्डीमा पठाएको बताउनुभयो । दसैँमा माग उच्च हुुने भएकाले अघिनै टिपेर बजार पठाउने गर्छन् । चाडपर्वको समयमा स्याउले मूल्य पनि राम्रो पाउँछ ।
बेनीमा प्रतिकिलोग्राम दुई सय २० का दरले मुस्ताङी स्याउ बिक्री भएको छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत नेत्रप्रसाद भट्टले दसैँमा मुस्ताङमा उत्पादन भएको स्याउको ठूलो मात्रा खपत हुने बताउनुभयो ।
चाडपर्वको अलावा मुस्ताङ घुम्न आउने पर्यटक र पाहुुनाहरुले कोसेलीको रुपमा स्याउ, स्याउको सुुकुटी, स्याउको मदिरा, ओखर, जिम्बुु, स्थानीय जातको सिमिको दाल किनेर लैजान्छन् । दसैँअघिको तीज र पछिको तिहार तथा छठ पर्वका लागि पनि मुस्ताङको स्याउ बजार पठाउने गरिएको मार्फाका कृषक लालप्रसाद हिराचनले बताउनुभयो ।
मुस्ताङका बगैचामा पाकेका स्याउले बास्नादार भएका छन् । किसान र व्यापारीहरुलाई स्याउ टिपेर बजार पठाउने चटारो छ । यसपाली उच्च घनत्व जातको स्याउ भदौको १० र १५ गतेबाट टिप्न थालिएपनि स्थानीय जातको स्याउ असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो ।
अनुकुल मौसम, बगैचा व्यवस्थापन, रोग, किराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढेको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढेको उहाँले बताउनुभयो ।
मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिकटन स्याउ उत्पादन भएको र रु. ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरका व्यापारी बगैचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गरेका छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छ ।