Sun. Oct 6th, 2024

खान समर्थकको प्रदर्शनका कारण पाकिस्तानको राजधानी ठप्प

इस्लामावाद, २०८१ असोज १९ गते शनिबार । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकले प्रदर्शनका क्रममा सडक कब्जा गर्ने प्रयास गरेपछि शनिबार पाकिस्तानको राजधानी इस्लामाबादको सामान्य जनजीवन प्रभावित बनेको छ ।

पाकिस्तानको सत्तारूढ गठबन्धनमाथि धाँधलीको आरोप लागेको फेब्रुअरीको चुनावमा खानलाई उम्मेदवारी दिनबाट रोक लगाइएको थियो ।

निर्वाचनपछि खानविरूद्ध लगाइएका दर्जनौं कानुनी अभियोगहरूमा अदालतले खानलाई सफाई दिएको छ ।

तर पूर्व प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) ले नियमित प्रदर्शनका साथ सरकारको प्रदर्शनमाथि रोक लगाउने निर्देशनको अवज्ञा गरेको छ।

एएफपीका अनुसार  उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको उनको पावरबेसबाट पिटिआई कार्यकर्ताहरू शुक्रबार इस्लामाबादतर्फ जान थालेका छन् तर उनीहरूलाई कन्टेनर अवरोध र अश्रुग्यासको झोँकाको सामना गर्नुपरेको छ।

अक्टोबर १५ मा सुरु हुने साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनअघि सुरक्षाको प्रत्याभूति गर्नुपर्ने आवश्यकता औंल्याउँदै शनिबार साना र छरिएर रहेका काफिलाहरूले इस्लामाबादमाथि दबाब दिएका थिए।

“मलाई हाम्रा सबै जनताप्रति गर्व छ”, खानले शनिबार दिउँसो सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको सन्देशमा भनिएको छ, “हिजो बाहिर (सडकमा) निस्कँदा र अविश्वसनीय बाधाहरू पार गर्दै तपाईंले अविचलित लचिलोपन र साहस देखाउनुभयो।”

लाहोरमा शनिबार पनि विरोध प्रदर्शन भएको थियो, तर पूर्वी मेगासिटीलाई राजधानीसँग जोड्ने मुख्य मोटरमार्ग अवरुद्ध गरिएको थियो।

यसैबीच, एम्नेस्टी इन्टरनेसनलले सञ्चार कटौती र सडक अवरोधले जनताको अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, शान्तिपूर्ण भेला हुने र हिँडडुल गर्ने अधिकारको हनन गरेको जनाएको छ ।

“यो प्रतिबन्ध पाकिस्तानमा विरोध प्रदर्शन गर्ने अधिकारमाथिको चिन्ताजनक दमनको एक हिस्सा हो,” अधिकारवादी समूहले भनेको छ।

सामाजिक सञ्जाल एक्सलाई पनि चुनावपछि पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । मतदानको दिन मोबाइल इन्टरनेट पनि काटिएको थियो र पिटिआईले निर्वाचनमा व्यापक रूपमा अनियमितता भएको आरोप लगाएको थियो।

खानले सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीका रूपमा पाकिस्तानको नेतृत्व गर्नुभएको थियो भने उहाँलाई पाकिस्तानको राजनीतिक ‘किङमेकर’ मानिएको शक्तिशाली सैन्य संस्थापनसँग सम्बन्ध विच्छेद भएपछि संसद्मा अविश्वासको प्रस्ताव ल्याई अपदस्थ गरिएको थियो ।

यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र सशस्त्र लडाकू समूहबीच भएको झडपमा छ सैनिक र त्यति नै सङ्ख्यामा सशस्त्र आक्रमणकारीको मृत्यु भएको सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त घटना प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको र त्यहाँ दुई पक्षबीच गोली हानाहान भएको इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) नामक सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments