लुम्बिनी पर्यटन सर्किट बनाउने तयारी भइरहेको छः मुख्यमन्त्री आचार्य
देउखुरी (दाङ), २०८१ असोज ११ गते शुक्रबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन प्रवद्र्धनका लागि प्रदेशका १२ जिल्ला समेटी ‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने तयारी भइरहेको बताउनुभएको छ ।
विश्व पर्यटन दिवसका अवसरमा आज घोराहीमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा उहाँले ‘लुम्बिनी घुमौं’ अभियानलाई व्यापक बनाउने समेत घोषणा गर्नुभयो । “म सबैलाई एकपटक लुम्बिनी भ्रमण गर्न आह्वान गर्छु, लुम्बिनी प्रदेश पर्यटनको केन्द्र हो । यहाँका हरेक जिल्ला पर्यटकीय हिसाबले उपयुक्त छन् ।”
उहाँले लुम्बिनी विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रियस्तरमा पनि समन्वय भइरहेको बताउनुभयो । “लुम्बिनी प्रदेश पर्यटकीय दृष्टिकोणले अगाडि छ, विभिन्न जातजाति, समुदायको कला संस्कृतिले लुम्बिनीको पहिचान विश्व समुदायमा पुगेको छ”, उहाँले भन्नुभयो ।
राससका अनुसार उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले पर्यटन क्षेत्रको विकासमार्फत रोजगारी सृजना गर्ने सकिने बताउनुभयो । “देशमा केही छैन, केही हुँदैन भन्ने भाष्यका कारण युवा पलायनको स्थितिलाई सरकारले गम्भीरतापूर्वक लिएको छ । नेपालमा भएका सम्भावना र अवसरको पहिचान गरी यही रोजगारी सृजना गर्नुपर्छ”, उहाँले भन्नुभयो । यसका लागि प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाको सम्भावनाको पहिचान गरी काम गर्ने बताउनुभयो । त्यसअवसरमा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनको विकासबाट समृद्धी हासिल गर्न सकिने उल्लेख बताउनुभयो ।
झाँकी र रैथाने परिकार
पर्यटन दिवसका अवसरमा विभिन्न समुदायको झाँकी, रैथाने परिकार, हस्तकलाका सामग्री प्रदर्शनी गरिएको छ । त्यसअवसरमा तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गी धुन, अवधि संरक्षण प्रतिष्ठान गढवाले अवधि नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवार सेवा समाज दाङको लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए ।
पाल्पा मिस्दी गाउँपालिकाको कौरा नाच, घोराही–१० को थारु समुदायको वडाका नाच, घोराही–१७ का थारु समुदायको सख्या नाच, लुकमेली खाम समाजको भुम्या नाच पनि प्रस्तुत गरिएको थियो ।
उत्कृष्टलाई पुरस्कार
पर्यटन दिवसका अवसरमा सहभागी उत्कृष्ट झाँकी, नृत्य र हस्तकलालाई पुरस्कृत गरिएको छ । मूल्याङ्कन समितिका अनुसार झाँकीतर्फ लुगुम्याल खाम समाज दाङ प्रथम भएको छ । यसैगरी, अवधि सांस्कृतिक प्रतिष्ठान गढवा द्वितीय, शीतल टोल विकास संस्था घोराही १३ तृतीय भएको छ । पञ्चशील आमा समूह ट्राफिक टोल, नेवार सेवा समिति घोराही र श्री सरयु राममन्दिर घोराही–१ सान्त्वना भए ।
मौलिक लोक नृत्यतर्फ राप्ती गाउँपालिका–५ लट्ठहवाको कठघोरी नृत्य प्रथम भएको छ भने नुवा गाउँले सोरटी द्वितीय र नेवार सेवा समिति घोराहीको लाखे नृत्य तृतीय भएको छ । यसैगरी, पाल्पाको निस्दीबाट सहभागी कौरा नृत्य, घोराही–१७ ओखराको सख्या नृत्य सान्त्वना भएको छ ।
त्यसैगरी मौलिक हस्तकला प्रदर्शनीतर्फ चिनारी महिला साझेदारी समूह घोराही प्रथम, लमही–४ भैसकुर्माको मेह्री हस्तकला केन्द्र द्वितीय, गढवा–३ गोबरडिहाको शुभश्री प्राकृतिक रेसा तथा पोतेजन्य हस्तकला तृतीय भए । प्रदर्शनीमा युनिक दिदीबहिनी अल्लो उद्योग घोराही, राप्ती खुकुरी उद्योग तुलसीपुर सान्त्वना भए ।