Wed. Sep 25th, 2024

राष्ट्रियसभामा दुई वार्षिक प्रतिवेदन पेस   

काठमाण्डू, २०८१ भदौ २५ गते मंगलबार । राष्ट्रियसभामा दुई वार्षिक प्रतिवेदन पेस भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०/८१ तथा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९/८० सभामा पेस भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९/८० सभासमक्ष पेस गर्नुभएको थियो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०/८१ सभासमक्ष पेस गर्नुभएको थियो । प्रत्यायोजित विधायनका सम्बन्धमा संसदीय निगरानी गर्ने दायित्व समितिको रहेको उहाँको भनाइ छ ।

राष्ट्रियसभा नियमवाली, २०७५ को नियम १५० बमोजिम राष्ट्रियसभाअन्तर्गत रिक्त रहेका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको सभापति पदको निर्वाचनको मिति आगामी भादौ ३१ गतेलाई तोकिएको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको नेपाल विश्वविद्यालय विधेकय, २०७९ का सन्दर्भमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबल गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३० गते बस्नेछ । रासस

Facebook Comments