Sun. Oct 27th, 2024

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु   

नैरोबी, २०८१ भदौ २० गते बिहीबार । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् ।

यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो । कार्यकर्ताहरूले महिला–हत्या महामारीको चेतावनी दिएका छन् ।

“हामीले ओलम्पिक एथलिट रेबेका चेप्टेगीको उनको प्रेमीले गरेको भयानक हमलापछि दुःखद निधनका बारेमा थाहा पाएका छौँ”, युगान्डा ओलम्पिक समितिका अध्यक्ष डोनाल्ड रुकारेले एक्समा पोस्ट गर्दै भन्नुभयो, “यो कायरतापूर्ण र संवेदनहीन कृत्यले एउटा महान एथलिटलाई गुमाउनुपर्यो, उनको विरासत कायम रहनेछ ।”

प्रहरीका अनुसार चेप्टेगीका साथी डिक्सन एनडिमा मराङगजका रूपमा चिनिने हत्याराले आइतबार पश्चिमी काउन्टी ट्रान्स-नजोइयाको एन्डेबेसमा रहेको उनको घरमा पेट्रोल छर्केर जलाएका थिए ।

यो घटना ३३ वर्षीया चेप्टेगीले पेरिस ओलम्पिकमा म्याराथुनमा भाग लिएको केही सातापछि भएको हो । म्याराथुनमा उनी ४४औँ स्थानमा रहेकी थिइन् ।

आक्रमणमा परेकी चेप्टेगीको शरीरको ८० प्रतिशत भाग जलेको उनको उपचार भइरहेको अस्पतालका कार्यवाहक प्रमुखले मङ्गलबार पत्रकार सम्मेलनमा बताएका थिए ।

“हिजो राति उनको सबै अङ्ग खराब भए”, मोई टिचिङ एन्ड रेफरल अस्पतालका एक चिकित्सकले बिहीबार बताउनुभयो । चेप्टेगीको उपचार गर्ने एक नर्सले उनको मृत्यु स्थानीय समयानुसार बिहान ५ बजे भएको जानकारी दिइन् । एएफपी

Facebook Comments